६ माघ, काठमाडौं । कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था : संक्षिप्त विवरण’ अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा ५ खर्ब ७८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।
यो परिमाण कुल कर्जाको ११.१९ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ ।
कोशी प्रदेशमा तोकिएको क्षेत्रमा जारी भएको कर्जा विवरण अनुसार कुल १ खर्ब ७४ अर्ब १८ करोड प्रवाह भएको छ । तीमध्ये सबैभन्दा धेरै कृषि क्षेत्रमा ९५ अर्ब २५ करोड कर्जा प्रवाह भएको छ ।
त्यस्तै साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड, पर्यटनमा १० अर्ब ३९ करोड र ऊर्जा क्षेत्रमा ३१ करोड ७१ लाख बराबर कर्जा प्रवाह भएको तथ्यांकमा छ ।
केन्द्रीय बैंकका अनुसार निक्षेपतर्फ कोशी प्रदेशमा ४ खर्ब ७७ अर्ब रहेको छ । यो राष्ट्रिय कुल निक्षेपको ७.३५ प्रतिशत हो । देशको कुल निक्षेप ६४ खर्ब ८७ अर्ब रुपैयाँ बराबर छ ।
त्यसैगरी कोशीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १ हजार ८ सय ३७ छ । यो १५.९३ प्रतिशत हो । देशभरि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० छन् ।
कोशीमा वाणिज्य बैंकको उपस्थिति रहेका स्थानी तह १ सय ३७ छ । देशभरि भने ७ सय ५३ छ । यहाँ ६ सय ८१ थान एटीएम सञ्चालनमा छन् । देशभरि ५ हजार १ सय ९३ एटीएम छन् ।
त्यस्तै कोशी प्रदेशमा डेबिट कार्ड चलाउनेहरू १७ लाख ३ हजार ८ सय ४२ छन् । यो कुल हिस्साको १४.१४ प्रतिशत हो । क्रेडिट कार्ड चलाउने ३१ हजार ५ सय ७९ छन् । यो कुल हिस्साको ११.९९ प्रतिशत हो ।
यसैगरी मोबाइल बैंकिङ चलाउनेहरू कोशी प्रदेशमा ३४ लाख १४ हजार १ सय ९९ छन् । यो कुल हिस्साको १४.३८ प्रतिशत हो । इन्टरनेट बैंकिङ चलाउने भने २ लाख हाराहारी छन् । कोशीमा ७६ लाख ५९ हजार ३५ निक्षेप खाता सञ्चालनमा छ । यो कुल हिस्साको १३.७० प्रतिशत हो ।
केन्द्रीय बैंकका अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा १९ अर्ब ६९ करोड ३० लाख बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा १२ अर्ब ८८ करोड ७७ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । त्यसपछि महिला उद्यमशील कर्जामा ६ अर्ब ७२ करोड २८ लाख बराबर सहुलियतपूर्ण कर्जा छ ।