काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरूको मागहरू आगामी हिउँदे अधिवेशनबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताएका हुन्। भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका थिए ।
डा केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रूपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गरेको बताए । प्रधानमन्त्रीलाई उनले भने, ‘हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्री ज्यू? के हामी नेपाली होइनौँ? संविधानले नै दिएको अधिकार पनि सङ्कुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साहित भएका छन् ।ʼ जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानुन निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाइ भएपनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेको केसीको भनाइ थियो।
सरकारले अध्यादेश मार्फत गैरआवासीय नेपालीहरूलाई १० वर्षे भिसा दिने व्यवस्था लागू गरेपछि संघका अध्यक्ष डा. बद्री केसीले राजनीतिक नेतृत्वसँगको भेटलाई तीव्र पारेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई समेत भेटेर संघका मागबारे ध्यानाकर्षण गराएका थिए ।