११ माघ, रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारको शिलान्यास आज गरिँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको जितगढीमा आयोजना हुने एक समारोहका बीच सडक विस्तारको शिलान्यास गर्नेछन् । आज दिउँसो एक बजे सिद्धबाबा सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी भएपछि उनी सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति एवम् विस्तार हुन लागेको हो ।
सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । हाल यो सडकखण्ड दुई लेनको छ ।
बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा बुटवल–नारायणगढ सडकखण्डमा जस्तो सबै पिच एकैपटक भत्काइने छैन । सबै सडक भत्काउँदा यात्रा कष्टकर हुने भएकाले सुरुमा दुवै छेउँका सडक बनाइसकेपछि मात्र बीचको भाग भत्काएर काम गरिने बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले बताइन् ।
सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्री ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, कटान गर्ने रुख गणना गर्ने तथा पुल र ‘अन्डर पास’ बन्ने स्थानका माटो परीक्षण लगायत पूर्व तयारीका सबै काम सम्पन्न भइसकेका छन् । आयोजनाका अनुसार सडक विस्तारको क्रममा करिब सात हजार रुख काटिने छन् ।
उनका अनुसार ५० किलोमिटर सडकखण्डलाई दुई चरणमा २५/२५ किलोमिटर छुट्याएर विस्तार गर्न लागिएको हो ।
तीन वर्षभित्र काम सक्ने सर्तमा चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सडक विस्तारको ठेक्का पाएका छन् ।
ती कम्पनीले लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का पाएका थिए । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो ।
यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदलयात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ओभरहेड ब्रिज र वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बनाइने छ ।