१० माघ, काठमाडौं । २ गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने कीर्तिमान बनाएको भारतको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी प्रोजिल ग्रिन इनर्जी नेपाल भित्रिएको छ ।

नेपालमा गोल्यान पावर कम्पनीसँगको सहकार्यमा प्रोजिलले आफ्नो उत्पादन भित्र्याएको हो । प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावर लिमिटेडबीच सहकार्यबारे जानकारी दिन ‘प्रोजिल ग्रिन इनर्जी नेपाल’ नामक कार्यक्रम बुधबार काठमाडौंमा आयोजना भएको छ ।

कार्यक्रममा विद्युत् नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धितालले नवीकरणीय ऊर्जा परियोजना अगाडि बढाउन विभिन्न सरकारले नीति ल्याएको बताए ।

उनले नियामक निकायको हैसियतले विद्युत् नियमन आयोगले पनि नवीनतम नीतिहरूमा काम गरिरहेको र यस क्षेत्रलाई थप अगाडि बढाउन सधैं तत्पर रहेको बताए ।

ऊर्जा व्यवसायीहरूको छाता संगठन (इप्पान) अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने खबरले उत्साहित बनाएको बताए । निजी क्षेत्रले चाहने र सरकारले बाटो खुला गरे अर्को वर्ष नै १ हजार मेगावाट ऊर्जा उत्पादन गर्न सकिने उनको भनाइ छ ।

त्यस अवस्थामा मुलुकले अर्को वर्षदेखि बिजुली किन्नु नपर्ने र किन्नै पर्ने भए त्यसको मात्रा न्यून हुने उनले बताए । अहिले ८ सय मेगावाटको टेन्डर भइसके पनि त्यो कहाँ छ भन्ने थाहा नभएको जस्तो अवस्था रहेको उनको गुनासो छ ।

मुद्दा मामिलाका कारण सौर्य ऊर्जामा धेरै समस्या सिर्जना भएको उनको भनाइ छ । उनले सरकार र मन्त्रीलाई पनि आफूहरूले यस्ता समस्या हटाएर स्पष्ट भिजनसहित अगाडि बढ्न सुझाव दिएको बताए ।

उनले र्सौर्य ऊर्जालाई कसरी अगाडि बढाउने भन्ने विषय स्पष्ट नभएकाले स्पष्ट भिजन आवश्यक रहेको बताए । विद्युत् विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्ने उनको सुझाव छ ।

त्यसैगरी सोपानका अध्यक्ष डा. सन्दीप शाहले ऊर्जा विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेख्यनीय हुने बताए । उनले नेपालका केही क्षेत्र सौर्य ऊर्जा उत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए ।

प्रसारण लाइन समेत सहज पहुँच गराएर मुस्ताङ लगायत ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने उनको भनाइ छ । सौर्य ऊर्जा उत्पादनका लागि केही समस्या समेत रहेकाले सरकारले नीतिगत रूपमा त्यस्ता समस्या समाधान घटाउँदै जानुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले सूर्यको भविष्य रहेसम्म सौर्य ऊर्जाको भविष्य उज्जवल रहेको भन्दै अब यसतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।

प्रोजिल ग्रिन इनर्जी नेपालका निर्देशक प्रविण अर्यालले नेपालमा सस्तो, भरपर्दो स्वच्छ विद्युत् उपलब्ध गराउन प्रोजिलसँगको सहकार्य महत्वपूर्ण हुने बताए । नेपालको ऊर्जा रुपान्तरणका लागि यो सहकार्य कोशेढुंगा बन्न सक्ने समेत उनले बताए ।

दुई वर्षभित्र ५ सय मेगावाट सौर्य ऊर्जा उत्पादन लक्ष्य

प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी दुई वर्षमा नेपालका विभिन्न स्थानमा ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजना स्थापना गर्ने लक्ष्य राखेको कार्यक्रममा जानकारी दिइयो ।

देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्त्वपूर्ण कदम हुने कम्पनीको भनाइ छ ।

कार्यक्रममा प्रोजिल ग्रिन इनर्जी अध्यक्ष शोभित बैजनाथ रायले गोल्याना पावरसँग मिलेर ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजना निर्माण गरी नेपालको नवीकरणीय ऊर्जा यात्रामा ऐतिहासिक कोशेढुंगा हासिल गर्न अघि बढिरहेको बताए ।

प्रोजिल ग्रिन इनर्जी नेपालले दिगो र नवीन ऊर्जाद्वारा नेपाललाई सशक्त बनाउने साझा प्रतिबद्धता राख्ने उनको भनाइ छ । प्रोजिल र गोल्याना पावर साझेदारीले विश्वव्यापी रूपमा २ गिगावाटभन्दा बढी नवीकरणीय ऊर्जा परियोजना सम्पन्न गरेको प्रोजिलको प्रमाणित ट्र्याक रेकर्डलाई गोल्याण पावरको मिहिन स्थानीय ज्ञान र बजार नेतृत्वसँग जोड्ने समेत उनको दाबी छ ।

गोल्याना पावरका तर्फबाट प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रविण अर्यालले यस साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपनप्रतिको प्रतिबद्धता प्रतिविम्बित गर्ने बताए ।

प्रोजिल ग्रिन इनर्जी नेपालले नेपालमा सौर्य ऊर्जा प्रयोगलाई तीव्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउने प्रयासमा रुफटप सोलार र जमिनमा माउन्ट गरिएको फोटोभोल्टेइक सौर्य प्लान्ट दुवै विकास गर्ने छ ।

दुई कम्पनीबीच साझेदारी सम्झौता अनुसार प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा यसको व्यापक विशेषज्ञता प्रयोगमा ल्याउँदै इन्जिनियरिङ, खरिद र निर्माण विकास कम्पनीका रूपमा नेतृत्व गर्ने भएको छ । गोल्यान पावरले व्यापार विकास, जग्गा अधिग्रहण र वित्तीय व्यवस्थापनमा योगदान गर्ने जनाइएको छ ।

प्रोजिल ग्रिन इनर्जी लिमिटेडले २ गिगावाटभन्दा बढी स्थापित क्षमता र व्यावसायिक, औद्योगिक, संस्थागत र सरकारी क्षेत्रमा ३ सयभन्दा बढी ग्राहकसँग काम गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0