सेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

२३ साउन, काठमाडौं । स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा फर्किन नसक्ने गरी घाटा व्यहोर्नुपर्ने अवस्थामा पुग्दछौं । त्यसैले त्यस्ता चलखेलको शिकार हुनबाट आफूलाई जोगाउन सामान्य रणनीतिहरू बनाउनुपर्छ ।

यस्ता चलखेलको उपचार खोज्नुभन्दा रोकथामका उपाय गर्नु उचित हुन्छ । धितोपत्र बोर्ड (सेबोन) र स्टक एक्सचेन्ज (नेप्से) ले यस्ता चलखेल रोक्ने प्रयास गरेका हुन्छन् । तर उनीहरूकै मात्र भर पर्नुहुँदैन । त्यसैले स्टक मार्केटमा हुने केही चलखेलको चर्चा यहाँ गरिएको छ ।

१. पम्प एन्ड डम्पः पम्प एन्ड डम्पको खेलमा योजनाकारले बजारमा गलत हल्ला फैलाएर शेयरको मूल्य कृत्रिम रूपमा बढाउँछन् । मूल्य बढेपछि उनीहरूले आफ्नो शेयर बेच्छन् । उनीहरूले बेचिसकेपछि शेयरको मूल्य घट्न थाल्छ ।

यसबाट बच्न सामाजिक सञ्जाल, अनधिकृत अनलाइन पोर्टल वा साथीभाइले दिने सुझावको छड्के जाँच गर्नुहोस् । कुनै पनि कम्पनीमा लगानी गर्नुअघि राम्ररी अनुसन्धान गर्नुहोस्, प्रचारप्रसचर वा अफवाहको पछि नलाग्नुहोस् ।

२. इन्साइडर ट्रेडिङः कम्पनीसम्बद्ध व्यक्ति (खासगरी उच्च तहमा रहेका पदाधिकारी) बाट गोप्य सूचना लिएर सोही अनुसार शेयर किनबेच गरी नाफा कमाउने कार्यलाई इन्साइडर ट्रेडिङ भनिन्छ । यस्तो कार्यमा कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च तहका कर्मचारी, एकाउन्टेन्ट, अडिटर संलग्न हुने सम्भावना हुन्छ ।

यसबाट बच्न आधिकारिक रूपमा सार्वजनिक नगरिएका सूचनाका आधारमा शेयर किनबेच नगर्नुहोस् । इन्साइडर ट्रेडिङ सम्बन्धी नियम–कानून बारे जानकारी लिनुहोस् । नियामक निकायलाई संदिग्ध गतिविधि बारे रिपोर्ट गर्नुहोस् ।

३. अनलाइन कारोबार र ह्याकिङः ह्याकरहरूले अनलाइन ट्रेडिङ खाताहरूमा अनधिकृत पहुँच प्राप्त गर्न र अनधिकृत कारोबार वा रकम निकाल्न सक्छन् ।यसबाट बच्न आफ्नो अनलाइन ट्रेडिंग खाताहरूको लागि बलियो, अरूले सजिलै थाहा पाउन नसक्ने पासवर्डहरू प्रयोग गर्नुहोस् । अरूले पनि प्रयोग गर्ने कम्प्युटर, मोबाइल वा यस्तै उपकरणबाट कारोबार नगर्नुहोस् । नियमित रूपमा आफ्नो खाता निगरानी गर्नुहोस् र कुनै पनि संदिग्ध लेनदेन तुरुन्तै रिपोर्ट गर्नुहोस् ।

४. स्टक कर्नरिङः कुनै व्यक्ति वा समूह मिलेर कुनै कम्पनीको शेयर किनेर थुपार्ने र बजारमा अभाव सिर्जना गरी मूल्य बढाउने वा कम्पनीको शेयरको माग अत्यधिक छ भन्ने देखाउन कृत्रिम खरिद आदेश गर्ने कार्यलाई स्टक कर्नरिंग भनिन्छ ।

यसबाट बच्न तपाईंको वित्तीय लक्ष्य अनुसारको प्रतिफल निकाल्ने कम्पनीको शेयरमा मात्र लगानी गर्ने बानी बसाल्नुहोस् । लक्ष्यभन्दा शेयरको मूल्य माथि जाँदैछ र त्यसरी मूल्य बढ्नुपर्ने कुनै कारण छैन भने उक्त शेयर बेच्नु बुद्धिमानी हुन्छ ।

स्टक मार्केटका चलखेलबाट जोगिन सधैं लगनशील भएर कारोबार गर्नुहोस् । विज्ञको सल्लाह लिनुहोस् र लगानी उपकरण (धितोपत्रहरू) तथा नियम–कानून बारे आफैंलाई शिक्षित गर्नुहोस् । बजार बढ्दा लोभ बढ्छ भन्ने चेतावनीको संकेत हो । यस्तोमा थप जाँचबुझ गर्नुपर्छ । संदिग्ध गतिविधि बारे सम्बन्धित नियामकलाई रिपोर्ट गर्नुहोस् ।

५ मार्केट डेप्थमा पारिने भ्रम : मार्केट डेप्थमा लगानीकर्तालाई झुक्याइने गरेको छ । बिक्री वा खरिदका लागि ठूलो परिमाणको अर्डर देखाउने, जब मूल्य म्याच हुने अवस्थामा आइपुग्छ, त्यसपछि अर्डर नै क्यान्सिल गरेर ठूला लगानीकर्ताले झुक्याउने गरेका छन् ।

हरेक लगानीकर्तालाई अर्डर हाल्ने र बीचमै क्यान्सिल गर्ने अधिकार छ, तर अरुले त्यहीं अर्डर देखेकै भरमा लगानी खरिद वा बिक्रीको निर्णय गर्नु हुँदैन । बिक्री अर्डर ठूलो देखिँदा सो कम्पनीको सेयर बेच्नेहरु धेरै रहेछन् भन्ने भ्रम वा खरिद अर्डर ठूलो देखिँदा खरिद गर्ने धेरै रहेछन् भन्ने भ्रम राख्न हुँदैन ।

उदाहरणका लागि : एबीसी कम्पनीको मार्केट डेप्थ

खरिद मूल्य सेयर संख्या बिक्री मूल्य सेयर संख्या
२५० १,७०० २५२ १,४००
२४९ १,६०० २५६ १,५००
२४८ १,३०० २५७ १,०००
२४७ ५०,००० २६० २,५००
कुल ५४,६०० ६,४००
यसमा खरिदतर्फ २४७ रुपैयाँमा ५० हजार किन्न खोज्ने ठूला लगानीकर्ता भन्ने ठानेर धेरैले खरिदका लागि आदेश दिन सक्छन्, वा बिक्रीकर्ताकै मूल्यमा खरिद गर्न सक्छन् ।

तर जब माथिको खरिद सकिँदै जान्छ र मूल्य घट्दै २४८ मा आइपुग्छ, त्यसपछि ५० हजार कित्ता अर्डर राख्नेले क्यान्सिल गरिदिन सक्छ । यसकारण मार्केड डेप्थका आधारमा खरिदबिक्रीको निर्णय पनि जोखिमपूर्ण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *