नयाँ दिल्ली । बलिउडका भाइजान अर्थात सलमान खान आफ्नो फेसन र प्रतिष्ठाका कारण चर्चामा रहिरन्छन् । आफ्नो हरेक स्टाइलले उनी आफ्ना फ्यानहरूको मन जित्छन् । सलमान जहाँ गए पनि उनलाई सबैले ‘भाई–भाई’ भनेर बोलाउँछन् । अभिनेता फिल्मबाहेक आफ्नो व्यक्तिगत जीवनका कारण पनि सधैं हेडलाइनमा रहन्छन् ।

उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर विवादमा घेरिरहेका हुन्छन् । हालै लरेन्स विश्नोई गिरोहले ज्यान मार्ने धम्की दिएपछि सलमानको सुरक्षा बढाइएको छ । तर, सलमान समस्यामा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि हाथापाई र सेटमा मारपिट कारण उनी कयौँ पटक विवादमा आएका छन् । सलमानसँग सम्बन्धित केही विवादहरू यस्ता छन् ।

सोमी अलीले लगाएकी थिइन् यस्तो आरोप

सोमी र सलमान सन् १९९१ देखि सन् १९९९ सम्म डेटिङमा रहे । सोमीले अभिनेतामाथि सम्बन्धमा रहेको समयमा मौखिक र शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । यसपछि सोमीले ‘नो मोर टियर्श’ नामक संस्था नै खोलिन् । सोमीले यो आरोप लगाइरहेको समयमा सलमान संगीता बिजलानीलाई डेट गर्दै थिए । दुई जना बिहे गर्ने तयारीमा थिए । दुवैको विवाहको कार्ड पनि छापिएको थियो तर सोमीले हस्तक्षेप गरेर सम्बन्ध तोडिदिइन् ।

कालो हरिणको शिकार
सन् १९९९ मा जोधपुरमा सुटिङका क्रममा सलमान खान र फिल्म ‘हम साथ साथ हैं’का सह–कलाकारहरूमाथि चिंकारा र कालो हरिणको शिकार गरेको आरोप लगाइयो । यसको मुल्य सलमानले अहिले पनि चुकाइरहेका छन् । यस घटनापछि ग्याङ्गस्टर लरेन्स बिश्नोई सलमानसँग रिसाए र उनलाई मार्ने धम्की समेत दिएका थिए ।

फुटपाथमा सुतिरहेका एक व्यक्तिमाथि गाडी चढाएको आरोप

सन् २००२ को डिसेम्बरमा सलमानलाई लापरवाहीसँग गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो । उनको कार मुम्बईको एउटा बेकरीसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा बेकरी बाहिर फुटपाथमा सुतिरहेका एक जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

सलमान खान र ऐश्वर्याको विवाद

अभिनेत्री ऐश्वर्या रायसँग सलमानको सम्बन्धको भारतीय मिडियामा निकै चर्चा भएको थियो । सलमान खान र ऐश्वर्या राय सन् १९९९ को फिल्म ‘हम दिल दे चुके सनम’को सेटमा प्रेममा परेका थिए । यो फिल्ममा दुवैको अनस्क्रिन केमेस्ट्रीलाई निकै मन पराइएको थियो ।

तर, उनीहरुको सम्बन्ध दुई वर्ष मात्र टिक्यो । मार्च २००२ मा ब्रेकअप भएपछि ऐश्वर्या रायले सलमानमाथि उत्पीडनको आरोप लगाएकी थिइन् । ऐश्वर्याका अभिभावकले पनि सलमान खानविरुद्ध उजुरी दिएका थिए । शाहरुख खान र ऐश्वर्याको एउटा फिल्मको सुटिङ चलिरहेको समयमा सलमानले ऐश्वर्यालाई सेटबाट उठाएर लगेको खबर आएको थियो ।

सलमानलाई रक्सीको लत बसेको, उनको शारीरिक शोषण र अपमानबाट दिक्क भएको भनेर ऐश्वर्याले एउटा बयानमा भनेकी थिइन् । तर यति हुँदाहुँदै पनि उनले अभिनेताको साथ नछोडेको तर बदलामा आफूले दुःख र पीडा मात्र पाएको उनको भनाई थियो । ‘यस विषयमा मेरो मौनतालाई गलत अर्थ लगाइयो । मेरो चरित्र बारेमा नभए नभएका हल्ला चलाइयो । ह–कलाकारसँग मेरो सम्बन्ध बिगार्न पनि प्रयास गरियो’ ऐश्वर्याले भनेकी थिइन् ।

विवेक ओबरायले दिएका थिए सलमानविरुद्ध बयान

यो त्यतिबेलाको कुरा हो, जतिबेला अभिनेता विवेक ओबेरोयले ऐश्वर्यालाई गरेको दूरव्यवहारलाई लिएर सलमान खानसँग झगडा परेपछि उनीविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । सन् २००३ को अप्रिल १ मा विवेकले एक पत्रकार सम्मेलन बोलाए, जसमा उनले सुपरस्टार सलमान खानले उनलाई फोन मार्फत धम्की दिएको बताएका थिए । त्यसबेला विवेक ऐश्वर्या रायसँग रिलेशनशिपमा रहेको खबर आएको थियो । यो प्रेस सम्मेलनपछि सलमानसँग उनको झगडा सुरु भयो ।

शाहरुखसँग झगडा

सन् २००८ मा कट्रिना कैफको बर्थडे पार्टीमा सलमानको शाहरुख खानसँग झगडा भएको थियो र त्यसबेला देखि कयौं वर्ष यी दुईबिच शीतयुद्ध चल्यो । शाहरुख खानले एउटा ठट्टा गरेका थिए, जुन सलमानलाई मन परेन ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0