४ कात्तिक, हेटौंडा । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।

बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । उनी ११औं तह सहसचिव हुन् । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा समेत नियुक्त भएका थिए ।

उनलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेल सम्मिलित ३ सदस्यीय समितिले २१ असोजमा सिफारिस गरेको थियो ।

२ मंसिर २०७६ मा गठित आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण अध्यक्ष ३ चैत २०८० बाट पदमुक्त भएका थिए । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्त हुन सकेको थिएन ।

श्रेष्ठलाई आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस भएपछि आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका थिए । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न लागेको थाहा पाएपछि ढकालले शुक्रबार प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष राजीनामा दिएका थिए । ६ माघ २०७६ मा सदस्य नियुक्त भएका ढकालले ४ वर्ष ९ महिना काम गरेर राजीनामा दिए ।

अनलाइनखबरसँग कुरा गर्दै ढकालले सचिव तहको व्यक्तिलाई वा आयोगका सदस्यमध्येबाट अध्यक्ष नियुक्त गर्ने तयारी हुँदाहुँदै कनिष्ट व्यक्ति सिफारिस भएकोप्रति असन्तुष्टि जनाए । ‘सचिव तहको व्यक्तिलाई अध्यक्ष बनाउने कुरा थियो । नभए सदस्यबाटै अध्यक्ष बनाउन पर्ने थियो । सहसचिवबाट बनाउने भए कनिष्टलाई ल्याउनु राम्रो होइन,’ ढकालले भने ।

‘हामीले स्थापनाकालबाट कानुन बनाउँदै काम गरेर आयोगलाई यो अवस्थासम्म ल्याएका हौं । स्थानीय तहमा मात्रै २ हजार जनालाई सिफारिस गरिसकेका छौं । निष्पक्ष र विवादरहित काम गर्दै आयौं । कनिष्ट व्यक्तिलाई अध्यक्ष बनाउँदा यहाँ बस्ने कुरा भएन । त्यसैले मैले राजीनामा दिएको हुँ,’ उनले भने ।

सुरेशमान श्रेष्ठ उमेर हदका कारण पदमुक्त भएपछि ढकालले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । डोरमणि पौडेल नेतृत्वको तत्कालीन नेकपा सरकारले सुरेशमान श्रेष्ठलाई अध्यक्ष तथा सहसचिवबाट अवकाश पाएका ढकाल र शर्मिला न्यौपानेलाई सदस्य नियुक्त गरेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0