लुम्बिनी प्रदेश सरकारद्वारा राहत वितरण गर्नको चालु आर्थिक वर्षमा ४० लाख निकासा

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुनर्स्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ ।

प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुनर्स्थापनाको लागि रकम उपलब्ध गराउँदै आएको आधारमा उक्त रकम निकास गरिएको हो ।

साउन, भदौ र असोज महिनाको १३ गतेसम्मको विवरण अनुसार राहत तर्फ ३४ लाख ७५ हजार र पुनर्स्थापना तर्फ ५ लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

राहततर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा ३ लाख ८० हजार, बर्दिया जिल्लामा २ लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहत स्वरूप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

पुनर्निर्माणको लागी प्युठान जिल्लामा पाँच लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

बाढी, पहिरो, आगलागी, चट्याङ्ग लगायतमा विपद्मा परेकाहरूलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुनर्स्थापनाको लागि रकम उपलब्ध गराउँदै आएको जनाएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राहत वितरणमा प्रदेश सरकारको चुस्तता दिन निर्देशन दिएका थिए ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *