५ कात्तिक, काठमाडौं। सरकारले विभिन्न विषयहरु अध्ययन गरेका विश्वविद्यालयका स्नातकहरुलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने तयारी थालेको छ ।

सोमबार बसेको सचिव बैठकले विश्वविद्यालयका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउन एक स्तरीकृत ढाँचा (स्टान्डर्ड फर्म्याट) निर्माण गर्ने निर्णय गरेको छ ।

सरकारी कार्यालयहरुमा स्नातकका विद्यार्थीहरुलाई स्यम्सेवकका रुपमा काममा लगाउने गरी यस्तो ढाँचा विकास गर्ने योजना छ । यसका लागि सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव संयोजक रहेको एक कार्यदल गठन गर्ने निर्णय भएको छ ।

कार्यदलमा राष्ट्रिय योजना आयोग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु सदस्य छन् । सूचना प्रविधि विभागका महानिर्देशकलाई सदस्य–सचिव तोकिएको छ । यो कार्यदलले १० दिनभित्र स्तरीकृत ढाँचा (स्टान्डर्ड स्टान्डर्ड फर्म्याट) बनाएर पेश गर्नेछ ।

गत चैत, २०८०मा शिक्षा मन्त्रालयले प्रशिक्षार्थी (इन्टर्न) कर्मचारी सम्बन्धी कार्यविधि २०८० जारी गरेको थियो । कार्यविधिले विश्वविद्यालय, प्रतिष्ठान वा सो अन्तरगतका संस्था वा निकायमा अध्ययनरत र उपाधिका लागि प्रतिक्षा गरिरहेकाहरुलाई शिक्षा मन्त्रालयअन्तरत इन्टर्नसिप गराउने व्यवस्था गरेको थियो ।

शिक्षा मन्त्रालय र मन्त्रालय अन्तरगतका निकायहरुमा इन्टर्नसिपमा काम लगाउन सक्ने व्यवस्था गरेपछि यसको आलोचना भएको थियो। कर्मचारीहरुले यस्तो कार्यविधिले सरकारी प्रणालीमा बाह्य व्यक्तिहरुको प्रभाव बढ्ने र कर्मचारीतन्त्र निरुत्साहित हुने भन्दै कार्यान्वयन हुन दिएनन्।

विज्ञहरुले भने विद्यार्थीहरुलाई स्वयंसेवकीय भूमिकामा परिचालित गर्ने नीति र विधि नयाँ जमानाको खाँचो रहेको बताएका थिए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0