६ कात्तिक, काठमाडौं। मुक्त कमलरी अभियन्ता उर्मिला चौधरी अन्तराष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’बाट सम्मानित भएकी छन् ।

नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरेका हुन्।

चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका हुन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।

चौधरी सम्मानित भएको जानकारी दिँदै दूतावासले लेखेको छ, ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।’

उर्मिला चौधरीको घर दाङको गढवा गाउँपालिका–७ मानपुरमा पर्छ । उनको बुवाको नाम फुलट चौधरी र खलसी चौधरी हो । उनका तीन दाजु, एक दिदी र एक भाइ छन्।

पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्षसम्म साहुको घरमा कमलरी बसेकी उर्मिला २०६३ माघ १ मा मुक्त भएकी थियन् । उनी मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी थिइन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0