७ कात्तिक, काठमाडौं । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात गर्ने गरी तीन देशबीच भएको सम्झौतालाई ऊर्जा मन्त्रालयले आफ्नो १०० दिनको महत्त्वपूर्ण उपलब्ध भएको बताएको छ ।

बुधबार काठमाडौंमा आफ्ना उपलब्धिहरू सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले १७ असोज २०८१ मा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगमबीच भएको सो सम्झौतालाई निकै महत्त्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।

नेपाल र बंगलादेशबीच दुवै देशमा अघिल्लै सरकार हुँदा यस्तो सम्झौता गर्ने मिति तय भएको थियो । तर, बंगलादेशमा राजनीतिक आन्दोलनमार्फत नयाँ सरकार बनेपछि सम्झौता हुने कि नहुने अन्योल थियो । बंगलादेश यो सम्झौता गर्न तयार भएपछि तीन देशका सरकारी निकायहरूबीच यस्तो सम्झौता भएको हो ।

त्यस्तै, १७ असोज २०८१ मै ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट २०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ३० मेगावाट राउन्ड द क्लक (आरटीसी) विद्युत् आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार कम्पनी एनभीभीएनबीच विद्युत् खरिद सम्झौत भएको विषयलाई पनि मन्त्रालयले उपलब्धिका रूपमा व्याख्या गरेको छ ।

आउँदो सुक्खा यामको विद्युत् माग धान्न भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकाले यस्तो सम्झौता गरिएको मन्त्री खड्काले बताए ।

त्यस्तै, विभिन्न प्रसारण लाइनहरूको निर्माण सम्पन्न भएको विषयलाई पनि मन्त्रालयले उपलब्धिका रूपमा सार्वजनिक गरेको छ ।

सन् २०२३ देखि २०३५ सम्मका लागि गरिनुपर्ने कार्यहरू समेटेर ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा पेस गरिएको मन्त्री खड्काले जानकारी दिए ।

त्यस्तै जलस्रोत र सिँचाइ क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यका लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृति गर्न नेपाल सरकार मन्त्रिपरिषद्‍ समक्ष पेस भएको पनि मन्त्रालयले जनाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0