१९ पुस, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ ।
यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ
तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ ।
यी हुन् धेरै आम्दानी गर्ने १० विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : १२ अर्ब ८६ करोड
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ३४ करोड ९३ लाख
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : २१ करोड १३ लाख
विराटनगर विमानस्थल : १७ करोड ५६ लाख
नेपालगञ्ज विमानस्थल : १३ करोड ११ लाख
चन्द्रगढी विमानस्थल : ८ करोड १७ लाख
धनगढी विमानस्थल : ६ करोड ५६ लाख
भरतपुर विमानस्थल :६ करोड ३९ लाख
लुक्ला विमानस्थल : ६ करोड २३ लाख
जनकपुर विमानस्थल : ६ करोड १२ लाख
उता, कतिपय विमानस्थलबाट भने प्राधिकरणले ज्यादै न्यून आम्दानी गर्ने गरेको छ । प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरेको १४ अर्ब ६५ करोड रुपैयाँमध्ये सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ ।
त्यस्तै डोटीस्थित प्राधिकरण कार्यालयको आम्दानी ९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ । रुम्जाटार विमानस्थल कार्यालयले १० हजार ६ सय ७८ रुपैयाँ आम्दानी गरेको छ ।