२२ कात्तिक, काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरेका छन् ।

उनले जनकपुर नगर आसपासका छठ घाटमा सहभागी ब्रतालु तथा सर्वसाधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, संस्कृतिक एवं धर्मिक महत्त्व र मैथिली सभ्यतामा यसको प्रभाव लगायतका विषयमा जानकारी लिए ।

सो क्रममा मन्त्री पाण्डेले जानकी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गरे । सो अवसरमा उपस्थित जनप्रतिनिधि लगायत अगुवासँग जनकपुरका धार्मिक महत्त्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचार प्रसार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तर्क्रिया गरेका छन् ।

उनले जनकपुरस्थित विमानस्थलको स्तरोन्नति गरी भैरहवाको गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गरेको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गरे । विमानस्थल अनुगमनका क्रममा उनले विमानस्थल परिसरमा झन्डोत्तोलन समेत गरे ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनपुरमा निर्माण भएका छठघाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0