२६ कात्तिक, जनकपुरधाम । संस्थागत विद्यालयहरुको संगठन हिसान, प्याब्सन र एनप्याब्सनले छात्रवृत्तिसम्बन्धी निर्णय नसच्याए शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्ति वितरण कार्यविधि २०७४ जारी गरी छात्रवृत्ति पाएका विद्यार्थीसँग रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्र पाउनुपर्ने निर्णय गरेको भन्दै निजी शिक्षालय सञ्चालकले विरोध जनाएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गरी तीनवटै संगठनले उपमहानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूका लागि गरेको शुल्कसम्बन्धी निर्णय मान्य नहुने चेतावनी दिएका छन् ।

हिसान धनुषाका अध्यक्ष सञ्जीवकुमार झाले शैक्षिक सत्र ०८१/०८२ को प्रारम्भमा उपमहानगरपालिकासँग छलफल गरी शिक्षा ऐन २०७४ अनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सकिने सहमति भएको स्मरण गरे ।

तर पछिल्लो समय नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ धनुषाको दबाबमा उपमहानगरपालिकाले रजिस्ट्रेसन र परीक्षा शुल्क मात्र लिन पाउने निर्णय गर्नु गलत भएको उनको भनाइ छ ।

उपमहानगरको निर्णयले छात्रवृत्तिमा विद्यार्थी पढाउन मुश्किल भएको उनीहरुको जिकिर छ ।

मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहले चालु शैक्षिक सत्रमा उपमहानगरको १३ भदौ २०८१ कै निर्णय अनुसार शुल्क लिन पाउनुपर्ने बताए ।

उपमहानगरले हालै गरेको नयाँ निर्णयलाई अध्ययन र परामर्श पश्चात् आगामी शैक्षिक सत्र २०८२/२०८३ देखि मात्र लागू गर्न उनले सुझाव दिए ।

हालको निर्णय नसच्याए जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरी आन्दोलनमा उत्रिने तीनैवटा संगठनले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0