२९ कात्तिक, काठमाडौं । बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । उनले यस सम्बन्धमा आज सरोकारवाला मन्त्री, कर्मचारी र जिल्लाका जनप्रतिनिधिहरुसँग संयुक्त छलफल गर्दै छन् ।
छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ ।
यो सडक विस्तारको जिम्मा चिनियाँ ठेकेदारले लिएको छ । तर काममा ढिलासुस्ती गरेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि सो सडक विस्तारमा भइरहेको ढिलासुस्तीबारे चासो राखेका हुन् ।
प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले भने, ‘खास समस्या के हो भनेर प्रधानमन्त्रीज्यूले चासो राख्दै आउनु भएको छ । त्यहीअन्तर्गत रुपन्देही, पश्चिम नवलपरासी, पूर्वी नवलपरासीका प्रतिनिधि सभा सदस्य, पालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुसमेतलाई बोलाएर छलफल गर्न लाग्नुभएको हो ।’
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ साल चैत ८ गते भएको थियो । ११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको काम चाँडै सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग–अलग ठेक्का लगाइएको थियो । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले पाएको छ ।
पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४.४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८.५८ किलोमिटर सडक १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
सरकारले यो सडकखण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ तर काम भने आधामात्रै सकिएको छ ।
सडक विस्तारमा ढिलाइ हुँदै आएपछि स्थानीय जनप्रतिनिधिले ठेक्का तोड्न दबाब दिँदै आएका छन् । केही दिनअघि पश्चिम नवलपरासीमा राजनीतिक दलका प्रतिनिधिहरुसहित बसेको सर्वपक्षीय बैठकले सडक विस्तारमा भइरहेको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । सोही अनुसार आज प्रधानमन्त्रीसँग छलफल हुन लागेको हो ।