३० असार, काठमाडौं । गृह सचिव एकनारायण अर्यालसहितको टोलीले सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेका बसका खोजी तथा उद्धार कार्यस्थल अनुगमन गरेको छ । टोली आइतबार सिमलताल पुगेर स्थलगत अनुगमन गरेको हो ।

अवलोकनमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखाका सहसचिव भीष्मकुमार भूसाल, सहसचिव वसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए ।

असार २८ गते भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरो खस्दा २ वटा यात्रुबाहक बस त्रिशूलीमा बेपत्ता छन् । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चलानीमा उल्लेख भएभन्दा १५ जना बढी यात्रु चढेको आफन्तहरुले विवरण टिपाएका छन् ।

खोजी कार्य जारी रहे पनि त्रिशूलीमा हरारहेका दुवै बसबारे हालसम्म पत्ता लाग्‍न सकेको छैन । बसमा सवार ५ जना यात्रुको शव भेटिएको छ । दुर्घटना हुँदा ३ जनाले पौडिएर ज्यान जोगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0