४ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)को कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रीय समितिको बैठकमा सबै नेताहरु पार्टीले चलाएको गार्मेन्टमा सिलाइएका एकनासको युनिफर्मसहित देखापरे । यसले धेरैको ध्यान खिच्यो । नेताहरुका अनुसार ती कपडा शिवगढीमै पार्टी केन्द्रीय कार्यालयले सन्चालन गरेको ‘सी गार्मेन्ट’मा सिलाइएका हुन् । गार्मेन्टले अरु विभिन्न कपडाहरु सिलाउने र बेच्ने गरेर आम्दानी गर्दै आएको छ ।
नेताहरुका अनुसार युद्धकालीन जनकम्युनको अवधारणामा विभिन्न जिल्लामा खेतिपाती, पशुपालन र लघु उद्योग सन्चालन हुँदै आएको छ । त्यसबाट हुने आम्दानीको खर्च कटाएर बाँकी भएको नाफा पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नियम छ ।
यसैबीच केन्द्रीय कमिटी बैठकमा नेकपाको महासचिव विप्लवले पार्टीले उत्पादन क्षेत्रको प्रगति तथा आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका छन् । र, पार्टी केन्द्रीय कार्यालयमा कसले कति रकम बुझायो र कति मौज्दात छ भनेर पनि उनले रकम खुलाएका छन् ।
सबैभन्दा पहिले नेकपाले कहाँ-कहाँ के-के गरेर कमाएको छ भन्ने कुराको चर्चा गरौं ।
महासचिव विप्लवका अनुसार १२० विघामा धान र पहाडमा सिमी, कोदो, फलफूल उत्पादन गरिएको छ । यसबाट दुई हजार क्विन्टल धान लगायत खाद्यान्न, दलहन र फलफूल उत्पादन भएको जानकारी विप्लवले दिए । उनले आफ्नो पार्टीको उत्पादन कार्य नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा नयाँ भइरहेको बताएका छन् ।
यस्ता प्रयत्नहरु विगतमा केही भए पनि ती आन्दोलनका रुपमा उठ्न र टिक्न नसकेको प्रसंग जोड्दै विप्लवले आफ्नो पार्टीले भने सफलता हासिल गरिरहेको निष्कर्ष प्रस्तुत गरेका छन् ।
‘असारदेखि यता वर्षे बाली उत्पादन गत वर्षभन्दा माथि पुगेको’ जानकारी दिँदै विप्लवले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हाम्रो उत्पादन अभियान भने अनेकौं समस्याहरुसँग जुझ्दै सफल परिणामसहित अगाडि बढिरहेको छ । यसले पार्टीको ओज, गरिमा र सारतत्वलाई नयाँ उचाइमा उठाइदिएको छ ।’
उत्पादन अभियानमा व्यवसायी, बुद्धिजीवी, कर्मचारी र पार्टी प्रतिनिधिहरुको सकारात्मक सहयोग रहेको उनले जानकारी गराएका छन् ।
नेकपाले हालै मोरङ र कपिलवस्तुमा गाईपालन सुरु गरेको छ । ‘तिनको प्रभाव निकै राम्रो रहेको छ । कपिलवस्तु गाई फारमले २ लाख पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ,’ विप्लवको प्रतिवेदनमा लेखिएको छ । यसैगरी कम्युन गौशालाबाट २ लाख १५ हजार प्राप्त भएको उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
नेकपाले काठमाडौं उपत्यका क्षेत्रमा हार्पिक र फिनेल उद्योग समेत चलाएको छ । त्यो प्रभावकारी ढंगले चलेको भन्दै विप्लवले उक्त उद्योगवाट ९० हजार रुपैयाँ केन्द्रीय कार्यलयमा प्राप्त भएको जानकारी गराएका छन् ।
अरु ककसले पार्टीमा कति बुझाए ?
नेकपाको पार्टीका संगठनहरुले निश्चित रकम पार्टीमा बुझाउनुपर्ने छ । यस नियम अनुसार कानून विभागको कामबाट १५ लाख ५० हजार र अन्तर्राष्ट्रिय विभागबाट १ लाख रुपैयाँ प्राप्त भएको विप्लवले जानकारी गराएका छन् ।
यसैगरी विद्यार्थी मोर्चाबाट ६ लाख, सहयोगी व्यवसायीबाट १८ लाख, अर्थविभागका दिनेशबाट ३ लाख ५० हजार, कलमबाट १ लाख ५० हजार, सुशिलबाट ५० हजार रुपैयाँ प्राप्त भएको विप्लवको प्रतिवेदनमा उल्लेख छ ।
सहयोगी प्रकाशन नयाँ सपनाबाट २५ हजार, नवयात्रा अनलाइनबाट २० हजार प्राप्त भएको विवरण छ ।
विभिन्न जिल्लाहरुले पार्टीमा बुझाएको रकमको विवरण समेत विप्लवले सार्वजनिक गरेका छन् ।
उनका अनुसार कपिलवस्तुबाट ५ लाख ५० हजार, रुपन्देहीबाट १ लाख ५० हजार, नवलपुरबाट १ लाख, काठमाडौंबाट ६ लाख ५० हजार, दोलखाबाट ३ लाख, नुवाकोटबाट २ लाख ५० हजार, चितवनबाट १४ हजार, दाङबाट १ लाख २५ हजार रुपैयाँ केन्द्रीय कार्यालयमा प्राप्त भएको छ ।
यसैगरी उदयपुरले १ लाख, कैलालीले ५० हजार, सिन्धुपाल्चोकले १ लाख २० हजार, ललितपुरले १ लाख, बाग्लुङले २ लाख ५० हजार, मकवानपुरले ३० हजार, कास्कीले १ लाख, तनहुँले ५० हजार, रोल्पाले ५० हजार, सुर्खेतले ५० हजार, अर्घाखाँचीले ५० हजार, भक्तपुरले १० हजार, जाजरकोटले ३५ हजार, म्याग्दीले ५० हजार, प्युठानले १० हजार, सल्यानले ५० हजार र झापाले २५ हजार रुपैयाँ पार्टीलाई बुझाएका छन् । रुकुम र कञ्चनपुर जिल्लाले बुझाएको रकमको विवरण भने विप्लवको प्रतिवेदनमा उल्लेख छैन ।
यसैगरी नेकपाको साँस्कृतिक संगठन सामना परिवारले १ लाख ५० हजार रुपैयाँ बुझाएको छ । नारायणबाट ४० हजार र योगेसबाट ४० हजार रुपैयाँ पनि प्राप्त भएको विप्लवले लेखेका छन् । तर उनीहरु को हुन् भन्ने प्रतिवेदनमा उल्लेख छैन ।
नेकपा केन्द्रीय कार्यालयलाई बागमती प्रदेशले २ लाख, मधेशले १ लाख २५ हजार तथा गण्डकी र सुदूरपश्चिमले ५०–५० हजार रुपैयाँ बुझाएका छन् ।
महासचिव विप्लवको प्रतिवेदनमा ‘१ नं.’बाट १ लाख २० हजार रुपैयाँ प्राप्त भएको पनि उल्लेख छ । ‘१ नं.’ भनेको के हो स्पष्ट हुन सकेको छैन ।
केन्द्रीय कार्यालयमा १२ लाख मौज्दात
विभिन्न स्रोतबाट प्राप्त रकमको खर्चको विवरण समेत प्रतिवेदनमा उल्लेख छ । र, खर्च कटाएर १२ लाख रुपैयाँ केन्द्रीय कार्यालयमा मौज्दात रहेको विप्लवले आफ्नो प्रतिवेदनमार्फत् जानकारी दिएका छन् ।
उनका अनुसार कार्यालय भवनको बाँकी ८ लाख तिरिएको जानकारी दिएका छन् । साथै निर्माणमा ६ लाख, प्राविधिकमा ११ लाख, भुक्तान गरिएको उनको भनाइ छ । गाईफर्ममा ३ लाख ५० हजार, गार्मेन्टमा २ लाख ५० हजार, भेंडापालनमा ४ लाख र कम्युनहरुमा २ लाख रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन् ।
स्वास्थ्य उपचार, सहिदपरिवार र घरभाडा अन्य व्यवस्थापनमा कति खर्च भयो भन्ने विवरण भने प्रतिवेदनमा केही उल्लेख छैन ।
विप्लव अझै असन्तुष्ट !
महासचिव विप्लवले नेकपाले आर्थिक क्षेत्रमा आत्मनिर्भरताको विचार लागु गरेपछि पार्टीलाई मात्र होइन देशलाई नै प्रभावित पारेको निष्कर्ष निकालेका छन् । ‘नयाँ आर्थिक मार्ग’ उपशीर्षकमा उनले अब अर्थसम्बन्धमा नयाँ विकास आवश्यक रहेको संश्लेषण गरेका छन् ।
‘आर्थिक मोर्चाबाट राजनीतिक कमाण्ड गर्नुपर्ने आवश्यकता बनेको छ,’ विप्लवले लेखेका छन्, ‘क्रान्तिमा पैदा भएको उतारलाई चढावतिर, रक्षात्मकतालाई आक्रमकतातिर, पराजयलाई विजयतिर बढाउन अर्थसम्बन्धमा नयाँ विकास आवश्यक बनेको छ ।’
सबै क्षेत्रमा रहेका सकारात्मक सोच भएका नागरिकले सक्दो सहयोग गरिरहेको भन्दै विप्लवले तर यसमा अझै पार्टीको सम्पूर्ण शक्ति एकरुपताका साथ संचालित नभएको बताएका छन् । सबै शक्तिलाई युद्धस्तरमा परिचालित गर्ने हो भने कसैले अनुमान नगरेको परिणाम हासिल गर्न सकिने उनको भनाइ छ ।
नेकपाले अनुसरण गरेको उत्पादन कार्य केवल पार्टीलाई आत्मनिर्भर गराउनेसँग मात्र पनि सम्बन्धित नभएको भन्दै विप्लवले यसको दीर्घकालिक सम्बन्ध पुरानो आर्थिक आधारलाई भत्काउने, समाजवादी प्रकारको आर्थिक सम्बन्धको निर्माण गर्ने र आम नागरिकलाई श्रमबाट समृद्धि ल्याउन सकिन्छ भन्ने विश्वास दिनेसँग पनि रहेको जनाएका छन् । ‘तसर्थ यसको महत्वलाई विशेषरुपले ग्रहण गर्नु पर्दछ,’ विप्लवले भनेका छन् ।
नेकपाले विगतका गलत आर्थिक सोच र व्यहारलाई धेरै हदसम्म परिवर्तन गर्दै अगाडि बढे पनि यसमा साधारण होइन आमूल परिवर्तन आवश्यक रहेकोमा विप्लवको जोड छ । आर्थिक क्षेत्रमा विकास गरेको एकीकृत स्वामित्वको मौलिक दृष्टिकोण तथा जीवन व्यवहारमा लागु गरेको आत्मनिर्भरतालाई नयाँ उचाइ दिन आवश्यक रहेको उनको भनाइ छ । ‘यसका लागि आर्थिक कार्य र व्यवहारमा नयाँ र फरक मार्ग अपनाउन जरुरी भएको छ,’ विप्लवले प्रतिवेदनमा लेखेका छन्, ‘यसलाई एकीकृत स्वामित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको नयाँ मार्ग भन्नु उचित हुन्छ । यसले पार्टी भित्र समाजवादको प्रयोगलाई व्यक्त गर्ने छ भने उत्पादनले आत्मनिर्भरता र समृद्धितिर बढाउने छ ।’
हरेक नेतालाई आफ्नो निजी आर्थिक कार्य र पार्टीको आर्थिक कार्यलाई तालमेलमा राख्न सिक्न उनले सुझाएका छन् । नेताहरुको आर्थिक जीवन कसरी चलेको छ या नेताले गर्ने कार्यबाट पार्टीको आर्थिक कार्यलाई कसरी मद्दत पुगेको छ भन्ने विषय ज्यादै महत्वको भएको बताउँदै विप्लवले भनेका छन्, ‘यो मिलाउन सकिएन भने समाजवाद फेरि पनि उत्पादन विनाको वितरणको कुहिरोमा हराउने छ ।’