२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निकट विद्यार्थीहरूले नेविसंघको महाधिवेशन भाँड्न दुई पक्ष लागेको आरोप लगाएका छन् ।
थापा निकटमा विद्यार्थीहरूको बैठकले सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले संघको १२ औं महाधिवेशन भाँड्ने र बराल्ने चालबाजी गरेको आरोप लगाएका हुन् ।
दुवै पक्षलाई महाधिवेशनको मैदानमा उभ्याउन आफूहरूले चाहेको संघका केन्द्रीय सदस्य सम्पूर्ण बस्नेतले बताए । आन्तरिक मोलमोलाइ र लेनदेनको झमेला नतान्नका लागि दुवै समूहलाई आग्रह गरेको बस्नेतले बताए ।
‘हामीलाई संगठनको हित र महाधिवेशन बाहेक कुनै कुरामा दिलचस्पी छैन । संगठनको गरिमामा आँच आउने निरन्तरको दूषित हर्कत नगर्न नगराउन सम्बद्ध पक्षहरूलाई आग्रह गर्दछौँ,’ बस्नेतले भने ।
सदस्यता वितरण अभियानका लागि केन्द्रीय प्रतिनिधि जिल्ला र क्याम्पसमा खटाएपछि संघमा विवाद छ । संस्थापन पक्ष र महामन्त्री थापा निकटका केन्द्रीय सदस्यहरु प्रतिनिधिमा खटिएका छन् ।
नेता कोइराला पक्षका भने प्रतिनिधिमा सहभागी भएका छैनन् । प्रतिनिधि खटाउने क्रममा विवाद भएपछि एकको विरुद्धमा अर्को समूह उभिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिमा अध्यक्ष दुजाङ शेर्पालाई कारबाहीको माग गर्र्दै शेखर पक्षकाले उजुरी दिएका छन् ।
अर्कोतर्फ, शेखर पक्षको विद्यार्थी नेता प्रेमिका रानामगरलाई अनुशासनको कारबाही माग गर्दै अध्यक्ष शेर्पाले उजुरी दिएका छन् ।
एक आपसमा उजुरीमा उत्रिएका दुवै पक्षसँग राजनैतिक/वैचारिक मत भिन्नता र न्यायो सम्बन्ध समानान्तर ढंगमा रहेको महामन्त्री थापा पक्षका केन्द्रीय सदस्यले जनाएका छन् ।