नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अन्तिम समयमा नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्न हच्किएका छन्।
नेताहरूले एउटा मात्रै पार्टीसँग मिल्नेभन्दा पनि अभियानको मुख्य उद्देश्य नै वाम एकता भएकाले त्यसमै जोड गर्नुपर्ने बताएपछि उनी एकीकृत समाजवादीसँगको एकताबाट तत्कालका लागि हच्किएका हुन्।
यसअघि शनिबार (हिजो) बिहान अभियानको बैठक बसेको थियो। तर, बिना निर्णय सकियो। यो बैठकले एकीकृत समाजवादीसँगको एकताबारे टुङ्ग्याउने बताइएको थियो। बैठक त्यसको साटो वामदेवको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेर सकियो।
त्यसो त यसअघि नेताहरूले वैचारिक, सैद्धान्तिक तथा साङ्गठनिक विषयहरू टुङ्गिएको भन्दै एकीकृत समाजवादीसँग यही साता एकता हुने बताएका थिए। तर, अन्तिममा वामदेव हच्किए।
अभियानका एक नेताका अनुसार अहिले नेकपा (एमाले)सँग पनि संवाद भइरहेको छ। भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकद्वारा पार्टी बाहिर रहेका नेताहरूलाई पार्टीमा फर्किन आह्वान गरेको एमालेले पनि वामदेवलाई फर्काउन चाहेको देखिन्छ।
यद्यपि, यसअघि भने अध्यक्ष केपी शर्मा ओलीले वामदेवलाई ‘भाउ’ दिएका थिएनन्। त्यसपछि एकीकृत समाजवादीसँग नजिकिएका वामदेव अन्तिम समयमा आएर एकता गर्नबाट हच्किएका हुन्।
अब उनले बरु समग्रतामा वाम एकताका लागि प्रयास गर्ने भएका छन्। अभियानका महासचिव डीबी कार्की भन्छन्, ‘हामी वाम एकताकै पक्षमा छौँ। यसर्थ, बरु त्यसकै लागि प्रयास गर्ने र नयाँ शिराबाट अगाडि बढ्ने भन्ने ध्येयका साथ कमरेड वामदेव गौतमकै नेतृत्वमा वार्ता समिति बनेको छ।’
यता एकीकृत समाजवादीका नेताहरूले भने एकता हुने नै बताउँछन्। एकीकृत समाजवादी उपाध्यक्ष जगन्नाथ खतिवडा भन्छन्, ‘उहाँसँग चाँडै एकता हुँदैछ।’ उसो त यसअघि वामदेवले एकताको मोडालिटी तयार पार्नसमेत भनेका थिए। एकीकृत समाजवादीको मुख्यालय आलोकनगर पुगेर अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूको बीचमा बसेर लामो छलफल गरेका थिए।
एकीकृत समाजवादीले उनलाई वरिष्ठ नेता मानेर तेस्रो वरीयतामा राख्ने भनेको थियो। तर, नेताहरूले अभियानले समग्रतामा वाम एकताका लागि प्रयास गर्नुपर्ने बताएपछि उनी यसमा ‘कन्भिन्स’ भएका हुन्।
जसै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटपछि उनले नेकपा पुन: बन्नुपर्ने माग गर्दै अभियान घोषणा गरेका थिए। शनिबारको बैठकमा नेताहरूले वामदेवलाई त्यही कुराको स्मरण गर्दै समग्रतामा वाम एकताका लागि प्रयास गर्नुपर्ने बताएका थिए।