२८ पुस, काठमाडौं । स्टार्टअप कम्पनीहरू डीएल अपलोड, मेल्ट डाउन र खेतीपाती अर्गानिक्सलाई यस वर्षको यस वर्षको ‘एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ प्रदान गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले शुक्रबार आयोजना गरेको कार्यक्रममा डीएल अपलोड विजेता बन्दा मेल्ट डाउन स्टार्टअप कम्पनी उपविजेता बनेको छ । विजेता कम्पनी डीएल अपलोडले ४ लाख र उपविजेता मेल्ट डाउनले २ लाख रुपैयाँ नगद हात पारेको छ ।

खेतीपाती अर्गानिक्सले भने अउडिएन्स पिक अवार्ड जित्दै १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

डीएल अपलोड

डीएल अपलोड एक फाइल सेयरिङ प्लेटफर्म हो जसले प्रयोगकर्तालाई फाइल होस्टिङ, सिंक्रोनाइजेसन र क्लाउड स्टोरेज सुविधा दिन्छ । यो एक ‘पे पर डाउनलोड’ प्लेटफर्म पनि हो जहाँ कन्टेन्ट क्रियटरहरुले आफ्ना कन्टेन्ट अपलोड गरी पैसा कमाउन सक्छन । यी कन्टेन्ट डाउनलोड गर्न प्रयोगकर्ताले पैसा तिर्छन जसमार्फत् कन्टेन्ट उत्पादकहरुले आम्दानी गर्न सक्छन् ।

भिडियो, गीत, सफ्टवेयर, फोटो, चित्र, लेखरचना लगायतका सामग्री सर्जकहरूले अपलोड गर्न सक्छन् । हरेक प्रयोगकर्तालाई २ सय ५० जीबी स्पेस निःशुल्क उपलब्ध हुन्छ । अर्जुन घिमिरे र किशोर ढकालले निर्माण गरेको यो प्लेटफर्म एनवाईईएफ स्टार्टअप अवार्डमा विजेता बनेको छ ।

मेल्ट डाउन

मेल्ट डाउनले यो प्रतियोगितामा फस्ट रनरअपको उपाधि पाएको छ । यो अनलाइन प्लेटर्फमले कार्यालयहरूमा काम गर्ने कर्मचारीहरूलाई सदस्यतामार्फत् ५० भन्दा बढी जिम तथा वेलनेस सेन्टरमा पहुँच दिन्छ ।

एउटा सब्सक्रिप्सनबाट जिम, योगा, जुम्बा, सउना, स्वीमिङ, फिजियोथेरापी लगायतका शारीरिक गतिविधिमा सहभागिता जनाउन पाइन्छ । केही ठूला कर्पोरेट कार्यालयहरूले यो प्लेटर्फम प्रयोग गरी आफ्ना कर्मचारीहरूलाई वेलनेस सुविधा प्रदान गरिरहेका छन् । यस्तो सब्सक्रिप्सिन परम्परागत जीमको शुल्कभन्दा ३० देखि ६० प्रतिशत सस्तो पर्ने मेल्ट डाउनको दाबी छ ।

खेतीपाती अर्गानिक्स

किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजहरूबाट विभिन्न सामग्री उत्पादन गरी बजारीकरण गर्ने खेतीपाती अर्गानिक्सले यो अवार्डमा पिपुल च्वाइस अवार्ड जितेको छ ।

प्रकृति गौतम, बिन्रमता शर्मा र अच्युत गौतमले सन् २०२० देखि सुरु गरेको खेतीपाती अर्गानिक्सले धनकुटामा कारखाना स्थापना गरेको छ ।

कम्पनीले सुक्खा फलफूल, फलफूल पाउडर, सुप लगायतका सामग्री उप्पादन गरिरहेको छ । द लाफिङ शेर्पा नामको ब्रान्डमा उत्पादित सामग्रीहरू उपभोक्ताले रुचाएका छन् ।

महासंघ अन्तर्गतको युवा उद्यमी मञ्चले आह्वान गरेको आवेदनमा यो वर्ष १ सय ७० कम्पनीले आवेदन गरेका थिए । त्यसमध्ये छानिएका उत्कृष्ट २० स्टार्टअपबाट टप ७ फाइनलका लागि छानिएको थियो ।

नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव मनाउन आयोजित कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

टप सातमा ⁠ज्ञान बजार, ⁠ई-कागजपत्र, माच २० अर्बिटल्स र स्मार्टपालिक स्टार्टअप कम्पनीहरू पनि परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0