४ साउन, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ ।

दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए ।

नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र बाँकी १७ वटा शव पूर्वी नवलपरासीमा भेटिए ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखेरेलले जिल्लाको नदी तटिय क्षेत्र र गण्डक ब्यारेजमा अधिकांश शव भेटिएको बताए । उनले धेरैजसो शव पूर्वी नवलपरासी क्षेत्रमा भेटिएकाले खोजीलाई पनि सोही स्थानमा तिव्रता दिइएको अनलाइनखबरसँग बताए ।

नारायणी नदीका बढी भंगला र बगर पूर्वी नवलपरासी क्षेत्रमा पर्ने तथा गण्डक ब्यारेजले पानी थुनेकाले पनि शव त्यो क्षेत्रमा अड्किएको प्रजिअ पोखरेलले बताए ।

नेपाली सेनाका ४० जना, सशस्त्र प्रहरीका तटिय क्षेत्रका पोष्टका सबै जनशक्तिले पूर्वी नवलपरासीमा खोजी गरिरहेको पोखरेलले बताए । ‘रजहरदेखि चोरमारासम्म निकुञ्जको क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर हात्तीसहित खोजी गरेका छौं, होटल तथा रिसोर्टहरूलाई पनि भनेका छौं । नदी आसपास बसोबास भएका समुदयालाई पनि आग्रह गरेका छौं,’ उनले भने ।

भएका सबै स्रोतको परिचालन गरी शवको खोजी गरिरहेको पोखरेलले बताए । प्रजिअ पोखरेलले भारतको एसएसबी र डीएमसँग पनि नदीले बगाएर लैजाने शवको बारेमा खोजी गरिदिन अनुरोध गरिएको बताए ।

गण्डक ब्यारेजभन्दा ४० किलोमिटर तल भेटिएका २ शव उनीहरूले यता पठाउन सहजीकरण गरेको प्रजिअ पोखरेलले बताए । उनले शव भेटिएपछि मुचुल्का गरेर सिधैं भरतपुर पठाउने र त्यहीँबाट सनाखत गर्ने गरिएको बताए ।

घटनास्थल र त्यसभन्दा तल बसको खोजी ८ दिनदेखि निरन्तर गरे पनि दुवैसमेत भेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0