ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ । विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् ।
ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको खोकनाका स्थानीय कृष्णभक्त महर्जनले बताए । मौलिकपन हाम्रो सम्पत्ति भएकाले आउने पुस्ताका लागि बचाउनुपर्ने उनको भनाइ छ । उनका अनुसार खोकनाको नेवा बस्ती आदिमकालदेखिको हो । विशेषगरी खोकनामा नेवार समुदायअन्तर्गत ज्यापू समुदायको बसोबास हुँदै आएको छ ।
उनले भने, “हाल पनि खोकनाको रुद्रायणी मन्दिरको मूल पुजारी डङ्गोल र महर्जनमा हुने चलन छ, खोकनाका सबै स्थानीयले मौलिक संस्कृति बचाउन प्रयास गरिरहेका छौँ, नेवा परम्परा र संस्कृतिको संरक्षण गर्न ललितपुर महानगरपालिका र सरोकारवाला सबैको ध्यान जानुपर्ने जरुरी छ ।”
आफूले थाहा पाएअनुसार आफ्नो चार पुस्तादेखि रुद्रायणी मन्दिर र अन्य जात्राहरूमा बजाउने बाजाको संरक्षण गर्दै आएको रुद्रायणीदेवी मन्दिरको बाजा संरक्षण समितिका अध्यक्ष स्थानीय हरिराम डङ्गोलको भनाइ छ । उनले भने, “मौलिकता र संस्कृति बचाउनका लागि नेवारी संस्कृतिमा प्रयोग हुने बाजाको संरक्षण गर्दै आएका छौँ, बाजा संरक्षणका लागि ललितपुरका वडा र महानगरपालिकाले सहयोग गर्नुपर्ने हो ।”
नेवारी संस्कृतिमा प्रयोग हुने बाजा संरक्षण गरिराखेको पुरानो मौलिक घर गत असोज १२ गतेको बाढीको समयमा भत्केको स्थानीय बताउँछन् ।
खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डङ्गोलको नेवा शैलीको मौलिक घर निकै जीर्ण अवस्थामा छ । मदनकृष्ण डङ्गोल र स्थानीयका अनुसार यो घरलाई नेपालको पहिलो बिजुलीबत्ती बलेको घरका रुपमा चिनिन्छ । नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट प्रसारण लाइन जोडेर खोकनामा पहिलो पटक बत्ती बलेको इतिहास छ ।
खोकनाको मौलिकता बचाउनका लागि स्थानीय मदनकृष्णले व्यक्तिगत घरलाई खोकना सङ्ग्रहालयका रुपमा स्थापना गरेका थिए । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको घर अहिले जीर्णोद्धारको पर्र्खाइमा रहेको छ । ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मौलिकता बचाउनका लागि घरधनीको मञ्जुरीमा खोकना सङ्ग्रहालयका रुपमा रहेको मौलिक घरको जीर्णोद्धार गरी मौलिकता संरक्षण गरिनेछ ।
खोकनाको मौलिकता बचाउनका लागि चारवटा ऐतिहासिक मिलको पुनःनिर्माण गरेको वडाध्यक्ष महर्जनले बताए । उनका अनुसार दुई मिलको काम सकेको र अब दुई मिलको काम छिट्टै सम्पन्न हुनेछ । खोकनाको मौलिकता बचाउनका लागि पोखरी, पाटी ढुङ्गेधारा मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनःनिर्माण गर्ने र ओझेलमा परेका सम्पदाको खोजी गर्ने गरेको उनको भनाइ छ ।
@रासस