वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । शपथ लिने बित्तिकै ट्रम्पले ओभल अफिसमा धेरै कार्यकारी कार्यहरूमा हस्ताक्षर गरेर पत्रकारहरूको प्रश्नका जवाफ पनि दिए । यस क्रममा विदेश नीतिको बारेमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश नीतिमा आफ्नो प्राथमिकता अमेरिकालाई सुरक्षित राख्नु हुने बताए।

अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टामै ट्रम्पले धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे । उनले जो बाइडेन प्रशासनका ७८ निर्णयहरू खारेज गरे । यससँगै अमेरिकाले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा पनि गरेका छन् । सेना र केही अन्य आवश्यक क्षेत्रहरू बाहेक सबै सङ्घीय भर्नाहरू पनि रोकेका छन् । यति मात्र होइन, ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गरे ।

उनले अमेरिकामा विदेशी गिरोह सदस्यहरूलाई लक्षित गर्न १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने योजना पनि घोषणा गरे । यो कानुनी अधिकार अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटालियन मूलका गैर-नागरिकहरूलाई नजरबन्द शिविरहरूमा थुन्न प्रयोग गरिएको थियो ।

राष्ट्रपति बन्ने बित्तिकै, ट्रम्पले जनवरी ६ को हिंसाको लागि दोषी ठहराइएका आफ्ना समर्थकहरूलाई माफी दिएका छन् । ट्रम्पले जनवरी ६, २०२१ को हिंसाका दोषीहरूलाई माफी दिइने वाचा गरेका थिए ।

ट्रम्पको शपथ ग्रहण समारोहमा धेरै पूर्व राष्ट्रपतिहरू र सर्वोच्च अदालतका न्यायाधीशहरू, ट्रम्पको सम्पूर्ण मन्त्रिपरिषद्, उनको परिवारका सबै सदस्यका साथै धेरै देशका शीर्ष प्रमुखहरू पनि थिएन । समारोहमा ठुला प्रविधि कम्पनीहरूका दिग्गजहरू पनि उपस्थित थिए ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0