काठमाडौँ। रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको सचिवालयले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन रकम उठाएको जिकिर गरेका छन् ।

आफूले गरेको आन्तरिक छानबिनका क्रममा एक जना पीडित महिलाले उपसभामुखको सचिवालयलाई ९ लाख रुपैयाँ बुझाएको पाइएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बताएका हुन् ।

उनले आफूलाई गत वैशाख ४ गते सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठमार्फत उपसभामुखको सचिवालयले आर्थिक चलखेल गरेको विषय सहितको सूचना आएको बताएका छन् । श्रेष्ठले ढकाललाई सूचना पठाउँदा पार्टीका एक जना पालिका सभापतिसँग गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाएको ढकालको भनाइ छ ।

‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ‘तपाईँले कुरा कता कता पुर्‍याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रुपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ’, ढकालले भनेका छन् ।

ढकालले यसबारे आफूले उपसभामुखलाई जति सोध्दा पनि ‘थाहा छैन’ भन्ने जवाफमात्रै दिएको बताएका छन् । ‘उपसभामुखको मात्र होइन, ‘थाहा छैन’ भन्ने रोग पार्टीमा सङ्क्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु’, ढकालको भनाइ छ ।

उनले अगाडि भनेका छन्, ‘हालसालै घटना सार्वजनिक भएपछि , रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपयोग गर्‍यो । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि , तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लबले सामान्य सोधपुछ समेत गरेन । यसको मतलब क्लब विषयको गाम्भीर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।’

ढकालले उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

‘मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि , ती ५ जनालाई खोजी गरी तिनीहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो’, ढकालले भनेका छन्, ‘यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठुलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0