१० माघ, काठमाडौं । नेपाल प्रहरीमा उपरीक्षक (एसपी) का ३७ पद रिक्त छन् । २५ एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो ।
यसअघि १२ एसपीका पद रिक्त थिए । ३७ एसपीको दरबन्दी रिक्त भएसँगै प्रहरी प्रधान कार्यालयले बढुवाको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले एक/दुई दिनमै बढुवा गर्ने तयारी गरेको छ ।
बढुवाका लागि २०७२ चैत १६ मा डीएसपी भएकाहरू र त्यसको १६ महिनापछि डीएसपी भएकाहरु गरी ६९ जना मुख्य प्रतिस्पर्धामा छन् । उनीहरू मध्येबाट रिक्त ३७ पदमा एसपीको बढुवा गर्ने तयारी छ ।
एसपी बढुवाको सिफारिस समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहन्छन् । आईजी अध्यक्ष रहेको समितिमा गृहमन्त्रालयका सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ । यो समितिले अबको केही दिनमै बढुवा सिफारिस गर्ने तयारी गरेको छ ।