काठमाडौँ । नेपाल सद्भावना पार्टीका संस्थापक नेता स्व.गजेन्द्रनारायण सिंहको आज (बिहीबार) २४औँ स्मृति दिवस मनाइँदै छ । सिंहका अनुयायीहरूले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइरहेका छन् ।
अनिल महासेठ संयोजक रहेको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले ‘गजेन्द्रबाबुको चिन्तन र मधेसको भावी कार्यदिशा’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर गजेन्द्रनारायणलाई सम्झिँदैछ भने महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टीले पनि विभिन्न जिल्लामा कार्यक्रम गर्नुको साथै केन्द्रीय कार्यालय बबरमहलमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
त्यसबाहेक गजेन्द्रनारायण सिंहको नामबाट सञ्चालित विभिन्न संघ–संस्थाले पनि स्मृति दिवसका अवसरमा कार्यक्रम आयोजना गरिरहेका छन् । यद्यपि, यस्ता कार्यक्रम औपचारिकताका लागिमात्र भइरहेको धेरैको बुझाइ छ । गजेन्द्रबाबुले उठाएको मुद्दा र एजेण्डालाई मधेसवादी दलले आत्मसात् गरे पनि उनको विचार र कार्यदिशालाई बेवास्ता गर्दै आएको गुनासो बढ्दो छ ।
गजेन्द्रनाराण सिंहको निकट रहेर लामो समय काम गरेका जीपी सिंह भन्छन्, ‘मधेसवादी दलहरू गजेन्द्रनारायणको पथमा हिँडेका छैनन् । उहाँका मुद्दा बोके पनि त्यसमा गम्भीर भएर अघि बढ्न सकेका छैनन् ।’
२०५८ माघ १० गते हृदयघातका कारण सिंहको निधन भएको थियो । उनले उठाएको मुद्दालाई मधेसवादी सबैजसो दलले बोके पनि उनको विचारलाई कसैले अपनाएको देखिँदैन ।
यो २४ वर्षमा धेरै परिवर्तन भइसकेको छ । २०४६ सालमा गजेन्द्रनारायण सिंहले गठन गरेका नेपाल सद्भावना पार्टी अहिले अस्तित्वमै छैन । रामकुमार महतोले सो पार्टी आफ्नो नाममा दर्ता गराए पनि राजनीतिक रूपमा कुनै प्रभाव देखाउन सकेका छैनन् । नेपाल सद्भावना पार्टी नेपालको राजनीतिक परिदृश्यमा अहिले कहीँ पनि देखिएको छैन । गजेन्द्रनारायणको साथमा काम गरेका नेताहरू पनि अहिले छरपस्ट अवस्थामा छन् ।
उनका साथमा काम गरेका बद्री मण्डल, भरतविमल यादव, सरिता गिरी, जीपी सिंहलगायत थुप्रै नेता अहिले राजनीतिबाट निष्क्रिय भएर बसेका छन् । हृदयेश त्रिपाठी र राजेन्द्र महतो छुट्टाछुट्टै पार्टी गठन गरेर राजनीतिमा सक्रिय छन् । लक्ष्मणलाल कर्ण, अनिलकुमार झा अहिले महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालमा छन् भने अमृता अग्रहरी एमाले पार्टीमा र रामेशवर राय यादव माओवादी केन्द्रमा छन् । नरसिंह चौधरी अहिले डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा गएका छन् । गोविन्द्र चौधरी, मृगेन्द्रकुमार सिंह यादव, मनिष सुमन, विकास तिवारीलगायतका नेताहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा छन् ।
नेपाल सद्भावना पार्टी स्थापनाकालदेखि गजेन्द्रनारायण सिंहका साथमा काम गरेका नेताहरू अहिले एकठाउँमा छैनन् । जीपी सिंहका अनुसार राजनीतिक रूपमा गजेन्द्रबाबुलाई सबैले बिर्सिसके भन्दा फरक पर्दैन ।
‘गजेन्द्रनारायण सिंहको नाम बेचेर राजनीतिमा जमेका नेताहरूले समेत उहाँलाई बिर्सिसकेका छन्,’ उनले भने, ‘मलाई लाग्छ, अब नेताहरूको सम्झनामा पनि गजेन्द्रनारायण सिंह हुनुहुन्न ।’
गजेन्द्रनारायण सिंह मधेसका आदर्श भए पनि मधेसी नेता तथा मधेसवादी दलले सिंहलाई आदर्श बनाउन नसकेको उनको बुझाइ छ ।
गजेन्द्रबाबुको संघर्ष
गजेन्द्रनारायण सिंहले मधेस र मधेसी जनताको हितका लागि भन्दै राजनीतिक दल स्थापना गरेको समयमा नेपालमा मधेसको नाम लिन पनि मानिसहरू डराइरहेका हुन्थे । मधेसमाथि विभेदको सीमा नाघिसकेको समयमा उनले धोती, कुर्ता लगाएर मधेसको पहिचानका लागि काठमाडौँदेखि तराईसम्म संघर्ष गरेका थिए ।
धोती, कुर्ता लगाएर संसदमा पुगेका उनले हिन्दी भाषामा आफ्नो मन्तव्य राख्दा उनलाई बोल्न रोक लगाइएको थियो । उनले हिन्दी भाषामा आफ्नो कुरा जबरजस्ती राखेपछि उनको त्यो मन्तव्य रेकर्डबाट हटाइएको थियो ।
तत्कालीन अवस्थामा टुँडिखेलमा आयोजना गरिएको आमसभामा सिंहले हिन्दी भाषामा आफ्नो मन्तव्य राख्दा विरोधमा हुटिङ भएको थियो । कार्यक्रमस्थलमा झडप नै भएको थियो । तैपनि उनले आफ्नो संघर्षलाई विश्राम नदिएको उनका सहयोगीको रूपमा लामो समय काम गरेका र हाल जसपा नेपालमा रहेका विकास तिवारी बताउँछन् ।
तिवारीले भने, ‘गजेन्द्रबाबुले मधेसको अधिकार र पहिचानका लागि जुनखालको संघर्ष गर्नुभयो, अहिले त्यस्तो संघर्ष कुनै पनि दल तथा नेताले गर्न सक्नुभएको छैन ।’
तिवारीका अनुसार मधेसका लागि संघर्ष गरिरहँदा थुप्रैपटक गजेन्द्रनारायण सिंह अपमानित हुनुपर्यो, प्रहरीले बुटले कुल्चिने काम गर्यो । ‘यो राज्यबाट उहाँ जति अपमानित हुनुभयो, जति विभेदको सिकार हुनुभयो, त्यति अहिलेका कुनै पनि नेताले भोगेका छैनन्,’ तिवारीले भने, ‘राज्यले उहाँमाथि जस्तोसुकै दमन गरे पनि उहाँले आफ्नो संघर्षलाई निरन्तरता दिनुभयो ।’
सिंहले शरीरमा प्राण रहुन्जेलसम्म मधेसकै लागि संघर्ष गरिरहेको बताउँदै तिवारीले स्वर्गीय सिंहको राजनीति सेवामूलक रहेको स्मरण गरे । ‘त्यो भावना अहिलेका कुनै पनि नेतामा भेटिँदैन,’ उनले भने, ‘आफ्नो व्यक्तिगत स्वार्थका लागि उहाँले कहिल्यै कुनै काम गर्नुभएन ।’
गजेन्द्रनारायण सिंहले उठाएको मधेसको मुद्दा र एजेण्डाले स्थापित गरेको मूल्य र मान्यताको आधारमा मधेस आन्दोलन भयो । उनले नै स्थापित गरेको मुद्दामा र एजेण्डामा मधेसको राजनीति अहिले अगाडि बढेको छ । अहिले परिस्थिति धेरै बदलिएको छ । मधेसले पहिचान पाएको छ । मधेसीले पनि बोल्न पाएका छन् । तर मधेसी पहिचानका लागि यो देशमा जीवनभर संघर्ष गरेका नेता गजेन्द्रनारायण सिंहलाई अहिलेका पुस्ताले बिर्सिन थालेको देखिन्छ ।
मधेसको विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस छाडेर २०४० मा नेपाल सद्भावना परिषद् गठन गरी मधेसी पहिचानका लागि संघर्षमा उत्रिएका गजेन्द्रनारायण सिंहले २०४६ सालमा नेपाल सद्भावना पार्टी गठन गरेका थिए । त्यो पार्टीले मधेसका लागि गरेको संघर्ष र योगदान स्मरणीय छ । त्यो पार्टीबाट थुप्रै नेता जन्मे, ठुला नेता भए, पटक–पटक मन्त्री भए, पार्टीको नेतृत्व पनि गरे तर गजेन्द्रनारायण सिंहलाई आदर्शको रुपमा मान्न छाडे ।
गजेन्द्रनारायणपछि उनको मुद्दा र एजेण्डालाई पछ्याउदै थुप्रै पार्टी खुले । तर कुनै पनि पार्टीले उनको आदर्शलाई स्वीकार गरेका छैनन् । गजेन्द्रनारायण सिंहको तस्बिरसमेत ती दलले आफ्नो पार्टी कार्यालयमा राखेका छैनन् ।
ती दलहरूको कुनै पनि दस्तावेजमा गजेन्द्रनारायण सिंहको विचार र आदर्शको चर्चा गरिएको छैन । जबकि आफूलाई गजेन्द्रनारायणकै अनुयायी र उत्तराधिकारी दाबी गर्ने नेताहरू पनि छन् ।
वरिष्ठ पत्रकार सीताराम अग्रहरी भन्छन्, ‘मधेसमा गजेन्द्रनारायण सिंहको छत्रछायामा थुप्रै नेताले काम गरे, त्यहाँबाट नेता बने तर उहाँको निधनपछि सबैले बिर्से ।’
गजेन्द्रनारायण सिंहले उठाएका मुद्दा आज पनि जीवित छन् । मुद्दा जीवित भए पनि गजेन्द्रनारायण सिंहको पहिचान समाप्त भएको उनको बुझाइ छ ।