काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेपनि कास्की जिल्ला अदालतले भने अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको बताए । ‘अहिलेसम्म यसबारेमा कुनै जानकारी छैन । पछि हुने कुरा पछि नै होला’, उनले रातोपाटीसँग भने ।

सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो ।

सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

यस्तै लामिछानेविरुद्ध प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको छ ।

सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा असोज ६ मै पूर्व डीआईजी समेत रहेका जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिएको छ ।

पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई ब्यापारिक साझेदार हुन् । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।

जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीसँगको बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताएका छन् ।

रविलाई पक्राउ गर्न लागिएको भन्दै रास्वपाभित्र तरङ्ग उत्पन्न भएको छ भने यही चर्चाका बिच शुक्रबार सत्तारुढ दलको बैठक समेत बसेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0