काठमाडौँ । शुक्रबार विपक्षी गठबन्धनको बैठकमा सत्ता पक्षमै रहेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर सहभागी भएपछि विभिन्न अड्कलवाजी भइरहेका छन् ।

कतिपयले सत्ता गठबन्धनमा अविश्वास बढेको, सरकार परिवर्तन नै हुने हो कि भन्ने आशङ्का व्यक्त गरिरहेका छन् । तर सत्ता पक्ष भने विपक्षी गठबन्धनको बैठकमा सत्ता पक्षकै घटक सहभागी हुनुले सरकारको स्थायित्व र आपसी समझदारीमा कुनै फरक नपर्ने दाबी गर्दैछ ।

सत्ता पक्षका मुख्य सचेतकसमेत रहेका एमाले नेता महेश बर्तौलाले सरकारमा सहभागी दल लोसपा नेपालका अध्यक्षलाई विपक्षी गठबन्धनको बैठकमा कुन हिसाबले बोलाइयो र त्यस्तो बैठकमा सत्ता घटकका नेता कुन हिसाबले गए भन्नेकुरा उनीहरूकै व्यक्तिगत विषय भएको बताए ।

‘के विषयमा, कुन हिसाबले उहाँहरूले बोलाउनु भयो, त्यो उहाँहरुको कुरा हो,’ बर्तौलाले रातोपाटीसँग भने, ‘सहभागिता जनाउनेले पनि किन र केकालागि त्यस्तो बैठकमा जानुभयो, त्यो स्वयं उहाँ र उहाँको दलको कुरा भयो ।’

उनले यसलाई सत्ता घटक दलहरूको विषयका रूपमा लिन नहुने पनि प्रस्ट पारे । ‘महन्थ ठाकुरले विपक्षी गठबन्धनको बैठकमा सहभागी हुनेबारे सत्ता पक्षलाई जानकारी दिएको वा नदिएकोबारे मलाई जानकारी भएन,’ बर्तौलाले भने, ‘सम्बन्धित दल आफ्नो निर्णय गर्न स्वतन्त्र हुन्छ । किन जानु भयो भन्ने कुरा उहाँकै प्रतिक्रियाबाट आउला ।’

विपक्षी गठबन्धनको बैठकमा महन्थ ठाकुरको उपस्थितिले सत्ता घटक दलहरूबिचको समझदारी, सहकार्यमा कुनै फरक पर्छजस्तो आफूलाई नलागेको उनले बताए ।

‘विपक्षी घटकको बैठकमा सत्ता घटक दललाई किन बोलाइयो, त्यसरी बोलाउन उहाँहरूले किन उपयुक्त ठान्नु भयो भन्ने कुरा बोलाउनेमा भर पर्छ,’ उनले भने, ‘बैठकमा किन जानुभयो भन्ने कुरा जाने व्यक्तिमा भर पर्छ । तर म यति भन्न चाहन्छु कि यो कुराले सत्ता साझेदारीमा कुनै समस्या होला जस्तो मलाई लाग्दैन ।’

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0