वीरगञ्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी जोडतोडले भइरहेको छ । हरेक पाँच वर्षमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ ।
मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको सहजताका लागि मेला समितिले आवश्यक तयारी गरिरहेको बताइएको छ । गढीमाई मेलामा आन्तरिक दर्शनार्थीका साथै भारतबाट समेत ठुलो संख्यामा दर्शनार्थी आउने गरेका छन् ।
पञ्चवर्षीय मेला एक महिनासम्म लाग्ने गर्दछ । मेलाका अवसरमा विशेषगरी यहाँ विभिन्न पशुको बलि दिइन्छ ।
जानकारका अनुसार गढीमाई मन्दिरमा भाकल गरिन्छ । मनोकामना पूरा भएपछि यहाँ बलि दिने परम्परा छ ।
चौधरी मूल पुजारी
अन्य मन्दिरमा प्रायः ब्राह्मण पुजारी हुन्छन् । तर गढीमाई मन्दिरमा मूल पुजारी चौधरी समुदायका छन् ।
गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरी छन् । मूल पुजारी चौधरीकै पुर्खालाई देवीले सपनामा दिएको निर्देशन अनुसार मन्दिर स्थापना भएको र यो मन्दिरमा चौधरी नै मूल पुजारी रहँदै आएको गढीमाइ पञ्चवर्षीय मेला समिति अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव बताउँछन् । उनका अनुसार मन्दिरको करिब डेढ सय वर्ष पुरानो इतिहास छ ।
वरिष्ठ पत्रकार चन्द्रकिशोर पनि गढीमाई मन्दिरको लामो इतिहास रहेको बताउँछन् । पहिला सानो मन्दिरमा पूजाआजा गरिन्थ्यो भने अहिले बरियारपुरमा ठुलो मन्दिर बनाइएको उनको भनाइ छ ।
राँगा बलि किन ?
बाराको गढीमाई मन्दिर एक शक्तिपीठ हो, जहाँ भाकल गरेपछि मनोकामना पूरा हुन्छ भन्ने मान्यता छ । आफूले मागेको मनोकामना पूरा भएपछि भक्तजनले भाकल अनुसारको बलि दिने गरेका छन् ।
यहाँको विशेषगरी राँगाको बलि दिइन्छ । तान्त्रिक विद्याका कारणले गढीमाई मन्दिरमा राँगा बलि दिने गरिएको मूल पुजारी शिव चौधरीको तर्क छ ।
कति क्षेत्रफलमा लगाइदैछ मेला ?
मेला आयोजक समितिका अनुसार यो वर्ष एक महिनाको अवधिमा गरेर करिब तीन करोडको हाराहारीमा दर्शनार्थी आउने आकलन छ ।
जसका लागि मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको छ । सो क्षेत्रफलमा विभिन्न स्टलदेखि लिएर मनोरञ्जनका साधन, पार्किङ, सातै प्रदेशका कृषिजन्य वस्तु राख्ने तयारी गरिएको छ ।
विशेष पूजाको व्यवस्था किन ?
यो वर्षको मेलामा विशेष पूजाको व्यवस्था गरिएको छ । मन्दिरको विकास एवं समृद्धिका लागि विशेष पूजाको व्यवस्था गरिएको गढीमाइ पञ्चवर्षीय मेला समिति अध्यक्ष यादव बताउँछन् ।
उनका अनुसार विशेष पूजाको व्यवस्था खासगरी मन्दिरको विकास एवं समृद्धिका लागि राखिएको छ । त्यहाँबाट आएको दान रकम खासगरी मन्दिरको विकासमा खर्च गरिने ‘मास्टर प्लान’ बनाइएको मेला समिति संयोजक यादवको भनाइ छ ।
यो वर्ष विशेष पूजाका लागि सहयोग स्वरुप ५ सय रुपैयाँ तोकिएको छ । विशेष पूजाबापत संकलन भएको रकमले मन्दिरमा पूजारी राख्ने तथा अन्य सरसफाइका काममा खर्च गर्ने योजना रहेको मेला समितिले जनाएको छ ।
मेलामा आउने भक्तजनको सुरक्षाका लागिसमेत उचित व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । हरेक चोकचोकमा प्रहरीदेखि लिएर अन्य गस्तीको समेत व्यवस्था मिलाइएको मेला समिति संयोजक यादवको भनाइ छ ।
बढी भिडभाड हुने भएकाले एक दिनमै दर्शन गरेर फर्किन चाहने दर्शनार्थीका लागि यो वर्ष विशेष व्यवस्था गर्न लागिएको मेला समितिले जनाएको छ ।
अन्य जिल्लाबाट मेलाको दिन दर्शन गर्न आउन चाहने भक्तजनका लागि ‘हेलिकप्टर’को व्यवस्थापन केन्द्र सरकारसँग पहल भइरहेको समितिका पदाधिकारी बताउँछन् ।
@रातोपाटी