५ असोज, काठमाडौं । प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदैछन् ।

गत शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

सोमबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रका लागि विपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनाल सदस्यीय रहेको कार्यदल बनेको थियो । उक्त कार्यदलले तयार पारेको ज्ञापनपत्र सोमबार प्रधानमन्त्रीलाई भेटेर बुझाउने विपक्षी दलका नेताहरूको तयारी छ ।

कार्यदलका सदस्य समेत रहेका रास्वपा सांसद खनालका अनुसार, विशेषगरी सरकारले अलर्ट जारी हुँदा पनि पछिल्लो विपत्तिमा तयारी गर्न नसकेको, घाइते र बेपत्ताहरूको खोजी तथा राहत, उद्धारमा गम्भीर नभएको लगायतका विषयमा केन्द्रत रहेर प्रतिवेदन तयार पारेको छ । ‘बाढीपहिरोसँग सम्बन्धित विषय छ । सरकारको पछिल्लो विपद्मा राम्रोसँग रेस्पोन्स गर्न सकेन भन्ने विषय प्रतिवेदनमा छ,’ उनले भने ।

कार्यदलका अर्का एक सदस्यका अनुसार सरकार सुशासन र भ्रष्टाचारको विषयमा गम्भीर हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । बाढीपहिरोपछि देशका विभिन्न ठाउँमा पुगेको क्षतिमा गम्भीर हुन आग्रह गर्दै पुनर्निर्माणमा लाग्न सरकारलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको उनले बताए ।

गत शुक्रबार बसेको विपक्षी दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेका थिए । सत्तारुढ गठबन्धनमै रहेपनि उनीहरू विपक्षी दलको बैठकमा सहभागी थिए ।

@अनलाइनखब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0