७ कात्तिक, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको ३६.४२ प्रतिशत भौतिक काम सकिएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार द्रुतमार्गको कामलाई समयमै सम्पन्न गर्न विभिन्न प्याकेजमा छुट्टाछुट्टै हिसाबले काम भइरहेको छ । त्यसअन्तर्गत प्याकेज २ मा पर्ने धेद्रे सुरुङ मार्ग २१ साउनमा ब्रेक थ्रु भएको छ ।

सैनिक अधिकृतहरुका अनुसार, द्रुतमार्गका जटिलमध्येका कामहरु अहिले भइरहेको छ । द्रुतमार्गको सुरु बिन्दु निर्धारण तथा सवारी आवागमनबारे इञ्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पस अन्तर्गत रिसर्च एण्ड ट्रेनिङ युनिटबाट पनि सम्भाव्यता अध्ययन गरिएको रक्षा मन्त्रालयका प्रवक्ता आचार्यले बताए ।

फास्ट ट्र्याक आयोजना अन्तर्गत रहेका ८९ पुलहरुमध्ये ८५ स्थानका पुलहरु निर्माणका लागि सम्झौता भएको छ भने मकवानपुरको राजदमार इलाकामा ५ वटा पुलहरुको निर्माण कार्य सकिएको छ ।

द्रुतमार्गमा हालसम्म ३१ हजार ९५० रुखहरु काटिएका छन् र काटिएका रुखहरुको बदलामा हालसम्म ७ लाख ५ हजार ५५२ नयाँ विरुवा रोपिएका छन् ।

प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । काठमाडौं निजगढ द्रुतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

सरकारले २१ वैशाख २०७४ मा फास्ट ट्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो । त्यसबेला ३० साउन २०८० भित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0