काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आँगनमा साँढेको प्रतिमा राखिएको छ । सेयर बजारको बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) झल्काउने यस्तो प्रतिमा राख्ने चलन संसारभर छ । साँढे जुधाइमा देखिनेजस्तो आक्रमण गर्ने तयारी अवस्थाको साँढेको प्रतिमालाई सेयर बजारको बढ्दो प्रवृत्तिको बिम्बका रूपमा लिइन्छ । जसलाई ‘चार्जिङ बुल’ भनिन्छ ।

अमेरिका, युरोपेली र एसियाली मुलुकमा समेत यस्तो चार्जिङ बुल राख्ने अभ्यास छ । सबैको ‘थिम’ एउटै भएपनि आफ्नो देशको मौलिकताअनुसार फरक–फरक किसिमका प्रतिमा बनाएका छन् । नेपालमा नेप्सेको सुरुवात भएको करिब ३० वर्षपछि पहिलोपटक नेप्सेको आँगनमा यस्तो बुल राखिएको छ । तर तयार पारिएको प्रतिमा साँढेजस्तो नदेखिएको भन्दै सामाजिक सञ्जालमा थुप्रैले आलोचना गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार यो बुल बनाउन करिब १४ महिना लागेको छ । यसको डिजाइन नेप्से सञ्चालक समितिले स्वीकृत गरेर बनाउन दिइएको हो । नेप्सेले बुलका साथै कार्यालय वरपरको पर्खाल, गेट, बगैँचा लगायत निर्माणका लागि १ करोड ४८ लाख रुपैयाँको ठेक्का दिएको थियो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बुल ढलोट र पित्तलले तयार पारिएको जानकारी दिए । उनले भने, ‘हामीले आफ्नै मौलिकताको बुल तयार पारेका हौँ । अरु देशकोजस्तो ठ्याक्कै बनाउने कुरा भएन । यो सांकेतिक प्रतिमा हो । त्यही रुपमा बुझ्नुपर्छ ।’

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0