१२ कात्तिक, काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले अनलाइनखबरसँग कुरा गर्दे विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको बताइन् । उनले भनिन्, ‘अब जहाजले नियमित उडान गर्दैछ ।’

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0