१२ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने दाबी गरेका छन् ।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको उनले बताए । मन्त्रीले यस्तो भने पनि अझै करिब २३० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

मन्त्री गुप्ताले भने आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनीयर) समेत पठाइसकेको बताएका छन् । केही खाली रहेका नगर/गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने उनको भनाइ छ ।

करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको दाबी छ ।

‘९–१० वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौं,’ मन्त्री गुप्ताले भने, ‘हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौं, भर्खरै आउनुभएका ३८औँ ब्याचका अफिसर÷अधिकृतहरूलाई पनि पालिकामै पठाएका छौं ।’

पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपूर पहलकदमी लिइरहेको उनको दाबी छ ।

एकैचोटी ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब झेलेको बताउँदै उनले भने, ‘कामको सन्दर्भमा आउने दबाबको अगाडि झुक्दिनँ ।’ उनले कर्मचारी सरुवासम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय–सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी पनि दिए ।

मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा संघीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि उनले बताए ।

एक सय दिनको अवधि मन्त्रालयका गतिविधि बुझ्न, आवश्यक ब्रिफिङहरू लिन र विभिन्न प्रकृतिका कामकारबाहीबारे जानकारी लिन खर्च भएको बताउँदै उनले यो बीचमा धेरै कामको थालनी भइसकेको समेत दाबी गरे ।

अब क्रमशः परिणाम आउने भन्दै १०० दिने कार्यकाल पूरा भएसँगै अब सिङ्गो सरकारकै गति बढ्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0