१३ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध गरेको छ । स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।
तिहार पर्व सुरु हुनै लाग्दा काठमाडौंमा प्रतिबन्धित प्लास्टिकका फूल छ्याप्छ्याप्ती बनेका छन् ।
मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको पनि जानकारी दिएका छन् । महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो ।
यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ’, मेयर शाहले भनेका छन् ।
व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनसमेत मेयर शाहले अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’