२१ कात्तिक, काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवनमा दुई र पाल्पामा एक गरी ३ जनाको मृत्यु भएको हो ।

चितवनको रत्ननगर नगरपालिका-२ सब्जी मण्डीस्थित सडकमा मधेश प्रदेश ०१-००१ ख ०४५७ नम्बरको बस र ना.२४प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका-१३ अमिलिया बस्ने २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको चितवन प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनकै खैरहनी नगरपालिका-९ बैरहनी चोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पाल्पाको तानसेन नगरपालिका-८ ठुलोपहिरो गौडेस्थित सडकमा लु. ८८ प ६६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २७ वर्षीया साबित्रा थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0