२३ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले असामान्य रुपमा भाडा बढाएपछि सरकारले छलफल थालेको छ । यसबारे शुक्रबार परराष्ट्र मन्त्रालयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित श्रममन्त्री शरतसिहं भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा. राणाले अवस्थाको अध्ययन गरी आवश्यक निकासका लागि आग्रह गरिन् ।

बैठकमा परराष्ट्रमन्त्री रााणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्नुपर्ने बताएकी छिन् ।

त्रिभुवन विमानस्थल उड्डयन कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरुले काठमाडौँ उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीहरुले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएका छन् ।

‘वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई महँगो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ,’ मन्त्री राणाले भनिन्,‘हवाई कम्पनीहरुले यदि एकाधिकार गरेका छन् भने उनीहरुलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्छ ।’

बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरुलेसमस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा. राणालाई ज्ञापनपत्र दिएका थिए । व्यवसायीहरुले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेका जानकारी गराएका थिए ।

नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्व अध्यक्ष विमल गौतम एवम् लगायथले मन्त्री राणासँग आग्रह गरेका थिए ।

मन्त्री राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिएकी थिइन् । उनले विमानस्थल मर्मत गरिने सूचना नेपालले ६ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीहरुले अस्वाभाविक रुपमा भाडा वृद्धि गर्न नहुने बताइन् ।

श्रम मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का परेकाले समाधानका उपायहरुको खोजी गरिने बताए ।

पर्यटनमन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाई कम्पनीहरुले आफूखुसी मूल्यबृद्धि गर्न नपाउने बताए । समस्याको समाधानका विकल्पहरुका बारेमा छलफल गरिरहेको उनको भनाइ छ । विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परस्थितिको समाधानका लागि विकल्पहरु खोजिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0