सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

काठमाडौं । धूप बाल्दा यसको सुगन्धसँगै धुवाँ पनि फैलिन्छ । धूपबाट निस्किएको त्यो धुवाँले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ ? धूपको धुवाँले फोक्सो तथा श्वासनलीमा कुनै असर गर्छ कि ?

यिनै विषयमा केन्द्रित रहेर वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश :

धूपको धुवाँले कस्तो असर गर्न सक्छ ?

धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति नै असर गर्छ जति चुरोटबाट निस्किएको धुवाँले । केही अनुसन्धानले त पूजापाठ गर्दा निस्कने धुवाँ र लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउन सक्छ ।

हाम्रो फोक्सोलाई विभिन्न प्रकारको संक्रमणबाट बचाउन ‘म्युकोसिलरीया क्लियरेन्स’ हुन्छ । जसले फोक्सोका विकारहरूलाई खकारको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ । धुवाँले त्यो ‘म्युकोसिलरीया’लाई असर गर्छ र धूपबाट निस्किएको धुवाँमा भएको विभिन्न तत्त्व, ग्यास र कार्बनको कण गएर हाम्रो फोक्सोमा टाँसिन्छ । लामो समय धूपको धुवाँमा बसेका व्यक्तिमा त्यो कण टाँसिंदै गएर पछि दीर्घकालीन रूपमा ‘सिओपिडी दम’, पहिलेदेखि दम भएको मान्छेलाई दम बिग्रिने, एलर्जी हुने र फोक्सोको क्यान्सर समेत हुन सक्ने सम्भावना हुन्छ ।

धूपको धुवाँ आगोको धुवाँ र गाडीबाट निस्कने धुवाँ जस्तै हो कि अझ बढी हानिकारक हुन्छ ?

आगोको धुवाँ, गाडीबाट निस्कने धुवाँ जस्तै र त्यो भन्दा बढी हानिकारक धूपको धुवाँ हुन्छ । इण्डिया र नेपालमा बढी धूपको प्रयोग हुन्छ, त्यसैले यसको बारेमा अन्य देशमा ठूला–ठूला अनुसन्धान त भएको छैन । तर इण्डियामा लगभग १० वर्षअघि लामखुट्टे मार्ने धूपको बारेमा अध्ययन भएको थियो । यसले धूम्रपानले भन्दा बढी हानि गरेको पाइएको थियो । धूपको धुवाँ र लामखुट्टे भगाउने धूपको धुवाँ लगभग उस्तै नै हुन्छन् । त्यसैले यसले गर्ने असर पनि त्यति नै हानिकारक हुन्छ भनेर हामी अनुमान गर्न सक्छौं ।

धूपको धुवाँले फोक्सो वा श्वासनलीमा समस्या भयो भनेर त बिरामी आउँदैनन् होला । कसरी धूपको धुवाँ हानिकारक छ भनेर हामीले भन्न सक्छौं ?

धूपको धुवाँको कारण फोक्सो वा श्वासनलीमा समस्या भयो भनेर नै त बिरामी आउँदैनन् । तर सीओपीडी दमको समस्या लिएर अस्पताल आएका बिरामी जसले कहिल्यै पनि धूम्रपान गरेका हुँदैनन्, उनीहरूमा दम हुने मुख्य दुई कारण पाइन्छ । एउटा लामो समयदेखि आगोको चुलोमा खाना पकाएका महिला र अर्को लामो समयदेखि पूजापाठमा संलग्न हुनेहरु पाइएको छ ।

चिनियाँ उपचार विधि अरोमा थेरापीमा विभिन्न वनस्पति बालेर सुगन्ध लिने प्रचलन पनि रहेछ, त्यसले चाहिं स्नायु प्रणालीमा राम्रो गर्छ भनिएको छ । धूपले पनि त्यस्तो फाइदा गर्छ होला नि त ?

कुनै पनि वस्तुलाई जलाएर त्यसबाट निस्कने धुवाँले कुनै पनि उपचार हुन सक्दैन । यसरी निस्किएको धुवाँले स्नायु प्रणालीमा राम्रो असर गर्छ भन्ने मेडिकल साइन्समा प्रमाणित पनि भएको छैन । कुनै वस्तु बालेर धुवाँ निस्किएको छ भने त्यो धुवाँले स्वास्थ्यमा फाइदा गर्ने भन्दा पनि विभिन्न रोगलाई निम्ताइरहको हुन्छ ।

हुक्काको धुवाँले चुरोटको धुवाँले जस्तो स्वास्थ्यमा नकारात्मक असर गर्दैन भनेर धेरैले प्रयोग गरेको देखिन्छ । इ–सिगरेटलाई पनि धूम्रपान छोड्न प्रयोग गर्ने भनेर धेरैले प्रयोग गरेको पाइन्छ । तर हुक्का र इ–सिगरेटमा पनि क्यान्सर गर्ने तत्त्व हुन्छ । त्यसैले कुनै पनि कुरा बाल्दा निस्किएको धुवाँ हाम्रो फोक्सोमा जान्छ भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
@ONLINEKHABAR
डा. अशेष ढुंगाना
छातीरोग विशेषज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *