२९ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको निर्णय लिन बागमती प्रदेश संसदीय समितिको बैठक बोलाएको छ ।
मंसिर १ गते केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बागमती प्रदेशका कांग्रेस मुख्य सचिव राजु नेपालले सूचना जारी गरेका छन् । शनिबार दिउँसो २ बजे बस्ने बैठक बस्ने भएको छ ।
कांग्रेसको विधान अनुसार नगरको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिले तोक्ने व्यवस्था छ । प्रदेश संसदीय समितिमा प्रदेशका सभापति, दुई उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, ३ जना सहमहामन्त्री र ९ जना सभापतिले तोकेका व्यक्ति हुने व्यवस्था छ ।
कीर्तिपुरको प्रमुखको पदका लागि ११ जनाको नाम सिफारिस भएर प्रदेश संसदीय समितिमा आएको छ । सिफारिस हुनेहरुमा कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीता बोगटी, सशिर महर्जन, जनकलाल महर्जन, राममान सिंह, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन्।
कांग्रेसका बागमती प्रदेशका एक पदाधिकारीका अनुसार तीन जनाको नाम चर्चामा छ । उनका अनुसार कृष्णमान डंगोल, हिमाल कार्की र जमुना नकर्मी मूख्य प्रतिस्पर्धीमा देखिएका छन् ।
‘नगर सभापतिको भूमिाका रहेकाले कृष्णमान स्वतः प्रतिस्पर्धी हुन् । हिमाल कार्कीलाई क्षेत्रमा सांसद राजन केसीको समर्थन छ,’ ती नेताले भने,‘पूर्वनगर प्रमुखको श्रीमती जमुनालाई दिनुपर्छ कि भन्नेमा सभापति देउवा देखिए जस्तो लाग्छ ।’