४ मंसिर, काठमाडौं । धादिङको धार्केमा डिजिटल धर्मकाटा राखिएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाटालाई डिजिटलमा रूपान्तरण गरिएको हो ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा धर्मकाटाको डिजिटइजेसनको औपचारिक सरुवात गरे ।
यसले सडकमा गुड्ने मालबाहक सवारीले ओभरलोड बोक्ने समस्या नियन्त्रणमा मद्दत पुग्ने विश्वास गरिएको छ। धर्मकाटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताए।
डिजिटाइजेसनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोडको समस्या नियमन प्रभावकारी हुने उनको दाबी छ । महासंघले देशभरका धर्मकाटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । हाल देशभर २१ वटा धर्मकाटा संचालनमा छन् ।
महासंघका अनुसार ती सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ । डिजिटाइजेसनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्ने महासंघले जनाएको छ ।
मन्त्री दाहालले डिजिटल धर्मकाटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसले व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने उनको भनाइ छ ।
धर्मकाटाको डिजिटाइजेसनले सडक संरचनाको दीर्घकालीन संरक्षणमा मद्दत पुर्याउने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक बिग्रिने समस्या कम गर्ने अपेक्षा महासंघको छ । महासंघले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ ।
दुर्घटना न्युनीकरणदेखि नियमनकारी निकायहरू ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीलाई आफ्नो सवारी साधनले के कति भारबहन गरेको छ भन्ने विषयमा समेत जानकारी दिने महासचिव बानिँयाले जानकारी दिए ।