बालेनसँग वडाध्यक्षको गुनासो : नगर प्रहरीले डकैती शैलीमा फाइल उठायो

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकाले विवाद सिर्जना भएको छ ।

२२ नम्बर वडाका अध्यक्ष चिनकाजी महर्जनले शुक्रबार काठमाडौं प्लाजामा भएको ३२औं नगर कार्यपालिका बैठकको एजेन्डा राख्नु अगाडि नै आफ्नो वडाबाट ‘डकैती शैली’ मा फाइल उठाएको भन्दै प्रश्न उठाएका थिए ।

‘जानकारी बेगर नै ६–७ बोरामा फाइलहरु लिएर गयो ? यो कुन आधारमा लगिएको हो ? एउटा सेवाग्राहीले आफ्नै फाइनल लिन त निवेदन हाल्नुपर्छ तर यो कुन शैली हो ?,’ वडाध्यक्ष महर्जनले प्रश्न गरे, ‘यो कसले लग्यो ? कसको फाइल लग्यो ? कसको आदेशमा भएको हो ?’

उनले यो २२ नम्बर वडामा मात्रै भएको हो कि अन्य वडामा पनि भएको हो भन्ने प्रश्न गरे ।

‘अध्ययन गर्न मन छ भने खाजा खुवाएर, चकटी ओच्छ्याएर फाइल अध्ययन गराउँछौं । तर, तरकारी जसरी फाइल कोचेर लगेको यो कुन आशय हो ? त्यसको जवाफ चाहिन्छ,’ महर्जनले भने ।

जवाफमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घर बहाल करसम्बन्धी फाइल हेर्न त्यसो गरेको बताए ।

‘महानगरमा बुझाउने विवरण र आन्तरिक राजस्व कार्यालयमा बुझाउने विवरण फरक पाइएकाले आन्तरिक राजस्व विभागको सहकार्यमा गर्न लागिएको हो,’ परियारले जवाफ दिए ।

उनले २२ नम्बर वडामा मात्रै नभएर अन्य वडामा पनि सुरु गर्ने बताए ।

प्रतिप्रश्न गर्दै वडाध्यक्ष महर्जनले भने, ‘यत्रो फाइल कसरी लैजान पाइन्छ ? कति लैजानुभयो ? डकैतीको शैलीमा के गर्न खोजेको ? म प्रतिपक्ष हो, म विपक्ष हो ? किन सम्पर्क गरिएन ?’

प्रमुख प्रशासकीय अधिकृतले १७ बन्डल जति लगेको जवाफ दिएपछि महर्जनले आफूलाई महानगरले ‘सौतेनी छोरा’ को जस्तो व्यवहार गरेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *