६ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गरी उनले बीआरआई ऋणपासो नभएको दाबी गरे । ‘नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीन विरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई ऋण पासोका रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेका छन्’, खनालले भनेका छन् ।

आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई लगायत नेपालको राष्ट्रिय हित अनुकुल हुने अरु सम्झौता पनि हुनुपर्ने खनालले बताए ।

बीआरआई सम्झौता गर्ने कि नगर्ने विषयमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमालेबीच बहसम भइरहनु र निर्णय हुन नसक्ने बिडम्बना भएको पनि उनले बताए ।

‘त्यही बीआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति ‘ऋण पासो’ कसरी हुन्छ ? यो कहाँको स्टान्डर हो ? सत्तारुढ दलहरु नेपाली बुद्धिले चल्छन् कि पश्चिमाहरुको निर्देशनमा चल्छन् ?’, एकीकृत समाजवादीका नेता खनालले प्रश्न गरेका छन् ।

बीआरआई सम्झौता गर्ने कि नगर्ने भनेर नेपाल भूराजनीतिक पासोमा फस्न नहने उनले बताए । ‘भूराजनीतिको पासोमा नफसौं, नेपाली वुद्धिले अन्तर्राष्ट्रिय सम्बन्धलाई हेरौं, छिमेकमा चीनजस्तो विकासवान विश्वकै दोस्रो आर्थिक शक्ति हुनु हाम्रा निम्ति ठूलो औसर समेत हो, त्यो औसरलाई बुद्धिमतापूर्ण रुपले ग्रहण गरांै’, खनालले आफ्नो विज्ञप्तिमा भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर बीआरआई कार्यान्वयन लगायतका विभिन्न सम्झौताहरु गरेर चीनसंग सहयोग र सम्बन्धलाई गहिरो बनाउँदै राष्ट्रिय विकास र निर्माण कार्यलाई गति प्रदान गरौं ।’

हरेक देशसंग हाम्रा सम्बन्धका विशिष्ट आयाम हुने भन्दै खनालले अरु देश वा शक्तिले के भन्छन् भनेर नभई नेपालले आफ्नो सम्बन्धलाई सर्वोपरि राखेर अरु देशसँग सम्बन्ध राख्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0