७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको आरोपहरू खण्डन गर्न पनि लायक नरहेको बताएका छन् ।
पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले भने, ‘हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन् ।’
ओलीले आफूमाथि लगाइने गरेको कुनै पनि आरोप कसैले नपत्याएको जिकिर गरे । ‘ती कुनै कुरा कसैले पत्याउँदा पनि पत्याउँदैनन्’, उनले भने, ‘उनीहरू आफैं बोल्छन् एकछिनपछि युट्युब खोलेर आफैं सुन्छन् र आफैं दंग पर्छन् । अनि सबै मानिस भ्रममा परे होला भन्ठान्छन् ।’
जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ, छैन जनतालाई थाहा भएको तर्क गरे । ‘कोही पनि भ्रममा परेका छैनन् । भ्रममा पर्दैन जनता’, उनले भने, ‘जनताले देखेको छ । कसले कति कमाएको छ कसले कति कमाएको छैन । कसले आफन्तको नाममा थुपारेको छ, कसले छैन । यी कुराहरू सबै दुनियाँले देखेको छ । विश्वले देखेको छ ।’
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्ने आरोपको खण्डन गर्दै ओलीले समाजमा घृणा फैल्याउने चेष्टा भइरहेको बताए ।
‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घन्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५-५५ मिनेटमा पुगिन्छ, त्यहीं छ’, उनले भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो र? तर यस्ता कुराहरूलाई भ्रमपूर्ण ढंगले फैलाएर जनतामा घृणा फैल्याउने दुस्चेष्टा भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा ल्याइने चेतावनी दिए ।