सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेले पछिल्लो समय खेलेका भूमिका र दिएका अभिव्यक्तिबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले ओली र लामिछानेले कांग्रेस लक्षित गरी गरेका टिप्पणी र सभामुख घिमिरे विश्वासको मत लिने बेला खेलेको भूमिकाबारे प्रश्न उठाएका हुन् ।

एमाले अध्यक्ष ओलीले दिएको गिरीबन्धु जग्गामा कांग्रेसले कमिसन खाएको र अलोकतान्त्रिक दल भनेको विषयमा शर्माले जवाफ दिए । ओलीले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गामा कमिसन खाएको अभिव्यक्ति दिएका थिए । त्यसबारे शर्माले भने,’यस अवधिमा गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक भयो । कांग्रेसले केही कुनै टिप्पणी गरेका थिएनौं । हामी कसैले भनेका थिएनौं- पूर्व प्रधानमन्त्रीज्यू तपाईंले गरेको कामलाई अदालतले त नीतिगत भ्रष्टाचारमा राख्यो नि ! हामी बोलेका थिएनन् । तर उहाँले फायर खोल्दै भन्नुभयो कांग्रेसले गिरीबन्धुको ७० विगा जमिन बेचेर कमिसन खायो । रौद्र रुपमा धारणम् गरेर उहाँले फायर खोलेपछि मौन बस्न सकिएन । प्रतिवाद गरियो ।’

शर्माले अझ अघि बढ्दै केही दिन अघि एमालेका सचिव योगेश भट्टराईले जग्गा सट्टापट्टा गर्नेबारे प्रतिनिधिसभामै ऐन संशोधन हुँदा कांग्रेसले किन संशोधन हालेन भन्दै दिएको अभिव्यक्तिको प्रसंग उठाए । भट्टराईले दिएको उक्त अभिव्यक्ति झुट भएको शर्माले उल्लेख गरे । कांग्रेसका सांसद अधिकारीले सट्टापट्टाको प्रावधान हटाउन संशोधन राष्ट्रिय सभामा र प्रतिनिधिसभामा डिला संग्रौला, दिव्यमणि राजभण्डारी लगायतका संशोधन हालेका स्मरण गराए ।

‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न’ महामन्त्री शर्माले चुनौती दिँदै भने ।

महामन्त्री शर्माले कांग्रेस अलोकतान्त्रिक दल भन्दै दिएको अभिव्यक्तिको पनि प्रतिवाद गर्दै चुनावी प्रतिस्पर्धाको उदारहण दिए । कांग्रेसमा देउवासँग प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति रहेको, कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा संसदीय दलको नेता रहेको र शेखर कोइराला प्रतिनिधि सभामा देउवा सँगै रहेको उदाहरण दिँदै उनले भने- आज तपाईंसगै चुनावी प्रतिस्पर्धा गरेका भिम रावल कहाँ छन् ? अनि को लोकतान्त्रिक को अलोकतान्त्रिक ?’

अध्यक्ष ओलीले काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाससँग आफैं अभिव्यक्ति दिँदै भिडेकोमा पनि शर्माले आलोचन गरे । ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि ! त्यहिँ तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । तिनले त्यहीा भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस् । तर आफौ सुरिनु भयो बोल्न । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ । संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु ।’

उनले गृहमन्त्री लामिछानेले रोस्टमबाट बोलेका अभिव्यक्तिबारे पनि प्रश्न गरे । लामिछानेले कांग्रेस सांसदप्रति लक्षित गर्दै देशको सूचना बेच्नेहरू सदनमै रहेको अभिव्यक्ति दिएका थिए । पदमा रहेपछि पदीय गरिमाभन्दा बाहिर जिम्मेवारी ख्याल नगरी बोलेकोमा उनको आपत्ति थियो । ‘गृहमन्त्रीले एक्सन रियाक्सन गर्ने होइन । गृहमन्त्रीले बोलेको कुराको प्रधानमन्त्रीले जिम्मा लिने जिम्मा नलिए सभामुखले रेकर्डबाट हटाउनुपर्छ ‘ शर्माले भने ।

अर्को टिप्पणी उनले सभामुख घिमिरेलाई पनि गरे । प्रधानमन्त्रीले विश्वासको मत लिने समय बाँकी छँदै कांग्रेसको विरोधकाबीच विश्वासको मतको कार्यसूची अघि बढाएकाले राम्रो नभएको उल्लेख गरे । ‘प्रधानमन्त्रीलाई विश्वासको मत लिने सयम उपलब्ध गराउने जिम्मा मेरो भयो भनेर सभामुखले भन्न सक्नुपर्‍थ्यो । विश्वासको मत लिने समय २२ दिन बाँकी थियो । आदरणीय प्रदीप गिरीको भाषामा भन्नुपर्दा त्यो संख्यातन्त्रको जीत थियो । लोकतन्त्रको जीत थिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *