काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौँ — काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न कांग्रेसले सरकारलाई सुझाव दिएको छ । बिहीबार प्रतनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिएका हुन् ।

‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस् । तर आफैँ सुरिनु भयो बोल्न । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ । संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु,’ महामन्त्री शर्माले भने ।

त्यस्तै कांग्रेस सांसद अर्जुननरसिंह केसीले पनि संघीय सरकार र काठमाडौं महानगरपालिकाले समन्वयमा काम गर्नुपर्ने बताएका छन् । ‘संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्थित्वमा आधारित छ । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ । संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको छ । हाल संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकार माथि गम्भिर प्रश्न उठेको छ । तत्काल समन्वय होस् । सरकारीर पक्षले अहंकार,हुलहुज्जत र झगडिया मानसिकता नबोकोस्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *