दाउन्नेमा हिलो र लेदोले सडक अवरुद्ध

परासी — बुधबार रातिदेखि परेको वर्षाको कारण पूर्वपश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ । दाउन्ने सडकको आर्धा दर्जन भन्दा बढी स्थानमा स-साना पहिरो र सडकमा भल बग्दा आज बिहान ५ बजेबाट सडक अवरुद्ध भएको हो ।

नारायणगण बुटवल सडक खण्ड विस्तारको क्रममा सडकको अवस्था जिर्ण हुँदा भलले गर्दा सामान्य वर्षामा पनि घण्टौ सडक जाम हुने गरेको छ । सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम तर्फ जान लागेका सवारी र यात्रु अलपत्र परेका छन् । ठूला र मालबहाक सवारीलाई पश्चिममा बर्दघाट र पूर्वमा दुम्कीबासमा रोकिएको छ । पहिरो र सडकमा जमेको लेदो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदबहादुर पौडेलले बताए । यसैगरी गैंडाकोटको थुम्सीमा पनि डाइभसर्नमा हिलोले सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सडक एकतर्फी सञ्चालनमा आएको छ उनले बताए ।

सडक विस्तारको क्रममा दाउन्ने डाँडा काटिएको र सामान्य वर्षामा पनि पहिरो जाने र पानीको निकास नहुँदा सडक हिलाम्य हुने गरेको छ । वर्षायाम सुरु नहुँदै सडक मर्मत गर्न ठेकेदार कम्पनीलाई सडक विभागले निर्देशन दिए पनि दाउन्ने खण्डमा सडक मर्मतको काम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *