काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

२ असार, काठमाडौं । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो ।
काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले बढेको छ । जुन महिनाको मात्रै सबैभन्दा ताता दिनहरुको ट्रेण्ड ०.०५ डिग्री सेल्सियसले बढेको छ ।

मे र जुन महिना सबैभन्दा गर्मी महिनाका रुपमा चिनिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जुन ८, ९ र १० तारिख अर्थात् जेठ २६, २७ र २८ गते अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

मनसुन बल्ल मधेशमा

मे र जुन महिना बढी गर्मी हुने महिनाका रुपमा चिनिन्छन् । यस वर्ष हिउँद याम र प्रि-मनसुन अवधिमा कम वर्षा भएकाले पनि गर्मी झन् बढेको अनुमान छ ।

मौसमविद प्रतिभा मानन्धर मनसुन फैलिन ढिलाइ भएकाले काठमाडौंसहित पश्चिम तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको बताउँछिन् ।

यस वर्षको मनसुन जेठ २८ गते नै कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमतिर सर्न ढिलाइ भइरहेको छ । मनसुन आज बल्ल मधेशको पूर्वी भागमा आइपुगेको छ । मौसमविद प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा मनसुन आउन अझै केही दिन लाग्ने अनुमान छ ।

महाशाखाले मनसुन सम्बन्धी अपडेट आज जारी गर्ने तयारी गरेको छ ।

पश्चिम तराईमा गर्मी कायमै

स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको मौसमविद बताउँछन् ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा उच्च गर्मी र तातो लहर कायम छ । मौसम पूर्वानुमान महाशाखाले आजै तातो लहर सम्बन्धी विशेष बुलेटिन पनि जारी गर्ने तयारी गरेको छ ।

यसअघि महाशाखाले जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावाको लहर चल्ने भन्दै सतर्कताको सूचना जारी गरेको थियो ।

पश्चिम तराईमा गर्मी कायमै रहेकाले आज पनि विशेष बुलेटिन जारी गर्न लागिएको हो ।

आज दिउँसो १२ः४५ बजेको रेकर्डमा रुपन्देहीका भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा, बाँकेका नेपालगञ्ज विमानस्थल, खजुरा, भगवानपुर, बैजापुर, सिक्टा, कैलालीको धनगढी एयरपोर्ट, बलिया, साँढेपानी, कञ्चनपुरको दोधारासम्म उच्च गर्मी छ । ती क्षेत्रको अधिकतम तापक्रम ३५ देखि ३९.८ डिग्री सेल्सियससम्म पुगेको छ । दिउँसो अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।

लामो समयदेखि पानी नपर्दा पश्चिम तराईका जिल्लाहरुमा खडेरी परेको छ । खेतबारीमा लगाइएका तरकारी र अन्नबाली सुक्न थालेपछि आकाशे पानीको भर पर्नुपर्ने किसानहरु मर्कामा परेका छन् ।

गत वर्ष पूर्वी नेपालमा भित्रिएको मनसुन तीन हप्तापछि मात्रै सुदूरपश्चिमसम्म फैलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *