पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौँ — उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा करारमा कार्यरत पाइलट विजय लामालाई कारबाही गर्ने भएको छ ।
पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

प्राधिकरणले तोकेका संवेदनशील क्षेत्रमा हवाई सुरक्षालाई बेवास्ता गर्दै लामाले भिडियो/फोटोग्राफी गरेको अभियोगमा जेठ २१ गते निगमलाई उडानमा नराख्न निर्देशन दिँदै उनीसहित दुई जना पाइलटलाई ग्राउन्डेड गरेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा संलग्न एक अधिकारीका अनुसार, ग्राउन्डेड गरिएका दुईमध्ये क्याप्टेन भावना गिरीलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनलाई रिलिज (उडानमा फर्काइएको) गरिएको थियो । ‘पाइलट गिरिलाई लागेको अभियोग पुष्टि भएन । उनलाई छाड्ने निर्णय भएको छ,’ प्राधिकरणका एक अर्का अधिकारीले भने, ‘तर पाइलट विजय लामाले पटक-पटक प्राधिकरणद्वारा जारी रिक्वायरमेन्ट, डाइरेक्टीभ, म्यानुअल र सर्कुलर उल्लंघन गरेको पाइयो ।’

ती अधिकारीका अनुसार, छानबिन समितिले पाइलट लामाले गुडिरहेको, टेकअफ गर्दै गरेको जहाजको ककपिट तथा अरु संवेदनशील क्षेत्रमा भिडियो/फोटोग्राफी गर्ने, सामाजिक संजालमा राख्ने गरेको पाइएको छ । ‘यसअघि पनि उनलाई यही अभियोगमा पटक-पटक सचेत गरेर छाडिएको थियो,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो,‘तर यसपटक छाड्न सकिने अवस्था छैन । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा (२५) बमोजिम २५ हजार रुपैयाँसम्मको कारबाही गर्ने तयारी भइरहेको छ ।’

प्राधिकरणले उड्ने तरखरमा धावनमार्गमा रहेको वा अवतरण हुँदै गरेको जहाजमा चालकदलका सदस्यहरुमध्ये ककपिट सदस्यहरुले नै फोटो/भिडियोग्राफी गर्नु अत्याधिक जोखिमपूर्ण रहेको जनाउँदै निषेध गरेको छ । यसबारे प्राधिकरणले बेला बेला नेपालमा उडान भर्ने सबै वायुसेवा कम्पनीलाई सर्कुलर जारी गर्दै आएको छ ।

तीन वर्षअघि निगममा ५८वर्ष उमेर पुगेर अवकाश पाएका पाइलट लामा हाल निगममा करार सेवामा वाइडबडी विमानमा कार्यरत छन् । निगमसँग भएका दुईटा वाइडबडी विमानका लागि १८ जना पाइलट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *