२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने ओलीको भनाइ छ ।
आज चीन भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’
उनले आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको बताए ।
चुनावमा बहुमत ल्याउन कोसिस गर्ने र बहुमत नआए सरकार गठनका अरु विकल्पमा जाने ओलीको भनाइ छ ।
‘चुनावमा हामी हरेकले बहुमत ल्याउने कोशिश गरौंला । बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ । हरेकलाई विश्वास छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरू होलान् ।’