२० मंसिर, काठमाडौं। कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीका बडायक दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् ।

हत्याको करिब एक महिनापछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र केसीले एक जनालाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय गंगाबहादुर राना छन् । उनलाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

‘एक महिना लामो अनुसन्धानपछि रानालाई पक्राउ गर्न सफल भएका हौं । उनी पक्राउ परेसँगै थप अनुसन्धानको बाटो पनि सहज भएको छ’ डीआईजी केसीले अनलाइनखबरसँग भने । अहिलेसम्मको अनुसन्धानले हत्याको कारण लुटपाट भन्दा पनि मदिरा सेवनपछिको विवादका कारण हत्या भएको खुलेको डीआईजी केसीले बताए । प्रहरीले पत्रकार सम्मलेन गरेर रानालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

८कात्तिकको बिहान मृतावस्थामा रमेश बडायक र उनकी श्रीमती कमला मृत भेटिए । रमेश घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् । रमेशको टाउको र कमलाको टाउको तथा निधारमा समेत धारिलो हतियार प्रहार गरिएको थियो ।

दम्पत्ती मृत फेला परेपछि कन्चनपुरका डीएसपी उमेश जोशीको कमाण्डमा घटनास्थल लालझाडीमा पुगेर अनुसन्धान सुरु गरिएको थियो ।

पछि प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक व्यापक शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली समेत अनुसन्धानमा खटिएको थियो ।

स्थानीय र प्रदेशको टोलीबाट समेत घटना नसुल्झिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट समेत टोली परिचालन गरिएको थियो । बडायक दम्पत्ती लालझाडीमै नास्ता पसल सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0